रविलाई आज वुटवल लगिंदै

काठमाडाै । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सातै बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी रहे पनि विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिन लागेको हो । लामिछानेलाई भैरहवा ल्याए लगत्तै आजै बयान सुरु गरिने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन् । जति सक्दो छिटो बयान सकेर लामिछानेलाई पोखरा नै पठाइने उनले बताए ।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिनको म्याद थप गरेको थियो । कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकममध्ये १४ करोड  २९ लाख रुपैंयाँ जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको समूहले गोर्खा मिडियामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ ।

सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ ऋण लगेको  देखिएको यसअघिका अुनसन्धान प्रतिवेदनमा उल्लेख छ । सोही मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । यसअघि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष छविलाल जोशीलाई पनि सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान गराएर कास्की पठाइएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ गते लामिछाने, पूर्व डिआइजी जोशी लगायतका १२ जनाविरुद्ध संगठित अपराध अनुसन्धान मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुनेमा दिपक लामा, अनन्तबाब राई, श्री बल्लभ नेपाल, विशाल तमाङ, रबिना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी नरेश जिसी र शिव बहादुर गुरुङ छन् । उनीहरु गोर्खा मिडिया नेटवर्कका शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ्ग कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु हुन् ।

गत वर्षको चैतमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत सुप्रिमका संस्थापक अध्यक्ष गितेन्द्रबाब (जिवी) राइ, अध्यक्ष ओमप्रकास गुरुङ, व्यवस्थापक सागर केसी, सचिव दिपेश पुन लगायतका २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ती मध्ये ७ जना  पक्राउ परेका थिए । पक्राउ परेका मध्ये अध्यक्ष गुरुङलाई पुरपक्षका लागि थुनामा पठाइएको छ । सचिव दिपेश पुन सहितका ६ जना धरौटीमा छुटिसकेका छन् । जिवी राई, सागर केसी सहितका १९ जना अहिलेसम्म पक्राउ परेका छैनन् ।  यसैबीच रास्वपाले आज भैरहवामा विरोध प्रदर्शनको तयारी गरेको छ । पार्टी सभापति  लामिछानेलाई बयानका लागि भैरहवा ल्याउने खबर पाएसँगै रास्वपाले प्रदर्शनको तयारी गरेको हो । आज बिहान ११ बजेदेखि नै भैरहवामा विरोधको कार्यक्रम सुरु गर्ने रास्वपाले जनाएको छ।