कैलाली । बाख्रा चोरेको निहुँमा एक जनाको हत्या गरिएको छ । कैलालीकाे गौरीगङ्गा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट हुँदा मृत्यु भएकाे हाे ।
२४ गते साँझ ६ बजेतिर १०÷१५ जनाको समूहले उनीमाथि अन्धधुन्ध आक्रमण भएकाे थियाे । ‘गाउँमा एउटा बाख्रा हराएको थियो उहाँले भेटेर आफ्नो मेडिकल नजिकै बाँध्नु भएको थियो । हराएको बाख्रा भेटेकोमा धन्यवाद दिनुपर्नेमा उल्टै निर्घात कुटपिट भयो’, उनको एक आफन्तले भने ।
कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको हो । मृतकका आफन्तले १० जनाविरुद्ध किटानी दिएका छन् । अहिलेसम्म प्रहरीले पाँच जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगङ्गा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जङ्ग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र ३० वर्षीय धर्म बिक रहेको डिएसपी बोहराले बताए ।
‘हामीले पाँच जनालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘दोषीहरूलाई कारबाही हुन्छ ।’
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया