दिपक मनाङे दाेषी ठहर भएपछि मनाङ-२ मा उपनिर्वाचन हुने

काठमाडाै । गण्डकी प्रदेश सांसद तथा पूर्व डन राजिव गुरुङ उर्फ दिपक मनाङे दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ । अर्का डन मिलन चक्रेलाई खुँडा प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको आरोप लागेका मनाङे सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका हुन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेश सभाका सांसद मनाङे पदमुक्त हुने अवस्थामा पुगेका छन् भने सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको छ ।

सर्वोच्च अदालतको फैसलासँगै प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागारमा पठाउने बाटो खुलेको छ ।

पाँच वर्ष कैद सजाय तोकिएका मनाङे दुई वर्ष ८ महिना कैद बसिसकेका छन् । उनले थप दुई वर्ष ४ महिना कैद सजाय भोग्न बाँकी छ । झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग सहितको रिट निवेदन सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ ।