माओवादी सरकार ढाल्ने खेलमा छैन : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) आफू र माओवादी पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । उनले सरकारले १०० दिनमा गरेको कार्यप्रति आफू असन्तुष्ट रहेको भएतापनि सरकार ढाल्ने खेलमा नरहेको बताएका हुन् ।
उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको धारणा राखे । सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए । अध्यक्ष प्रचण्डले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह समेत गरे ।