काठमाडाै । पिङ खेल्न गएका ८ र १४ वर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा पक्राउ परी हिरासतमा रहेका सशस्त्रका जवान हिरासतमा मृत फेला परेका छन् ।
राप्ती गाउँपालिका–१ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोमा झुण्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । शौचालयमा बिहान पाँच बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए ।
स्थानीय ती बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए । उक्त घटनामा सशस्त्र प्रहरीका जवान मगर र सहायक हवल्दार भरत रोका मगरलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको थियो ।
असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै पिङ खेल्न गएका दुई बालिकामाथि अपरिचित व्यक्तिहरूले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । लामो समय अनुसन्धान गर्दा पनि प्रहरीले कुनै सुराक फेला पार्न सकेको थिएन ।
घटनाको विरोधमा स्थानीयले भालुबाङ बजार बन्द गराउनुका साथै ज्वालामाई गण घेराउसमेत गरेका थिए । त्यसको दोस्रो दिन नै सशस्त्र प्रहरीले आफै घटना अनुसन्धान गरी बालिकामाथि बलात्कार वा यौनजन्य हिंसा गरेको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।
प्रतिक्रिया