रविलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । सहकारी गठी काण्डमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज जिल्ला अदालत कास्कीले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत शुक्रबार पक्राउ परेका रविलाई यसअघि ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलाल जोशीको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।

कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको म्याद थप भएको थियो ।