काठमाडौ । सहकारी ठगी काण्डमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज अदालत पेश गरिदैछ । गत शुक्रबार पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ गरेर पोखरा पुर्याईएका रविलाई आइतबार ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो । थपिएको म्याद हिजो सकिएपछि आज फेरी अदालत पेश गर्न लागिएको हो ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन्।
लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन। बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि।’
लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ।
प्रतिक्रिया