रविलाई छ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाै। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

उनलाई अदालतले पक्राउ परेको मितिबाट लागू हुनेगरी ६ दिन हिरासतको अनुमति दिएको हो । यस हिसाबले रवि अब थप तीन दिन हिरासतमा रहनेछन् ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पक्राउ परेको मितिबाट हिरासत अवधि गणना गरी ६ दिनको अनुमति दिइएको जानकारी दिए । यसबीचमा अदालत बन्द भएका कारण एकैपटक म्याद थप गर्दा ६ दिनको अनुमति दिइएको उनले बताए ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । यसमै टेकेर कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।