काठमाडाै । बंंगलादेशले अब नेपालबाट ४० मेगावाट विजुली किन्न पाउने भएकाे छ । आज बिक्री सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअघि ४० मेगावाट बिजुली बिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो ।
तर सम्झौताको तयारी भइरहेका बेला बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्काएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौता अन्योलमा पर्छ कि भन्ने आशंका बढेको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख डा. मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएसँगै सम्झौता भएको हो ।
प्राधिकरणले वर्षायामका पाँच (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बर) सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी भएको छ । जसअनुसार पाँच महिनामा एकलाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुने जनाइएको छ । प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया