काठमाडाै । चाडबाड नजिकिएसङ्गै हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ६० हजार प्रहरी परिचालित गर्ने भएकाे छ । मुलुकभर प्रहरीलाई चाैबीस घण्टा हाई अलर्टमा समेत राखेकाे छ ।
प्रहरीले सुरक्षित रूपमा जनताले आफ्ना चाडबाड मनाउन पाउन् भन्ने उदेश्यले भदौ ३० गते नै राजधानी उपत्यकालगायत ७७ जिल्ला प्रहरी कार्यालयलाई परिपत्र जारी गरेको छ ।
सबै जिल्ला प्रहरी कार्यालयलाई दशैं लक्षित सुरक्षा योजना बनाउन प्रधान कार्यालयले निर्देशन दिएको र सोहीअनुरूप सबै जिल्ला प्रहरी कार्यालयले दशैं तिहार, छठ, नेपाल संवतका लागि सुरक्षा योजना बनाइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
यस वर्षको चाडबाडलाई सुरक्षित रूपमा सम्पन्न गराउनका लागि देशभर रहेका प्रहरी कर्मचारीलाई किरिया बिदा, सुत्केरी बिदा र अत्यावश्यक बिदाबाहेक अन्य बिदा कटौती गरिएको पनि उनले बताए ।
दशैं सुरक्षा योजनाअन्र्तगत प्रहरीले सुरक्षा योजना, बजार अनुगमन, बजार व्यवस्थापन, दुर्घटना न्यूनीकरण, नागरिक सहयता कक्ष, अन्तर्राष्ट्रिय बोर्डरको अनुगमन, भीड नियन्त्रण, कालोबजारी रोक्न अनुगमन, जबरजस्ती चन्दा असुली विरुद्धको अपरेसनलगायतका काममा प्रहरीले योजना बनाएर अघि बढेको पनि उनले जानकारी दिए ।
खास गरी राजधानी काठमाडौंलगायतका ठूला सहरमा रहेका मानिसहरू चाडबाड मनाउन आफ्नै थातथलोमा जाने हुँदा गाउँ भरिने र शहर रित्तिने भएकाले लुटपाट र डकैती गर्ने गिरोहहरू सक्रिय हुने भएकाले चाडबाडमा शहरलाई समेत सुरक्षित राख्नका लागि नागरिकलाई सचेत गराउने र घर छोडेर जांदा ढोका तथा झ्याल राम्रोसंग लगाउने बहुमूल्य बस्तुहरूलाई आफुसगै लैैजान पनि प्रहरीले आग्रह गरेको छ।
नागरिकको भरोसायोग्य संगठनको रूपमा रहेको नेपाल प्रहरीले सुरक्षित नेपाल भन्ने अभियानलाई कार्यान्वयनमा लैजान सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको डीआईजी कार्कीले जानकारी दिए।
विगतका चाडपर्वमा भएको सुरक्षा कमी कमजोरीलाई ध्यानमा राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दशैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको पनि उनले जानकारी दिए ।
चाडबाडमा हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिराको बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, ट्राफिक नियम उल्लंघनजस्ता घटना हुन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि चाडपर्व लक्षित सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया