पलेशालाई दशलाख सहित सम्मान

काठमाडाै । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई १० लाख नगदसहित सम्मान गरेको छ । संविधान दिवसको उपलक्ष्यमा आज पलेशालाई हेटौँडा बजार परिक्रमा गराई औपचारिक समारोहकाबीच सम्मानित गरिएको छ ।

त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । 

त्यस्तै एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरूलाई मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले समग्र खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले महत्वका साथ काम गर्दै आइरहेको र आगामी दिनमा अझै प्रभावकारी ढंगबाट अघि बढ्ने बताए । 

उनले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे । त्यस्तै युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र तथा खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रसंशा गरे । 

उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकास र खेलमार्फत् प्रदेश र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने वातावरण बनाउन केन्द्रीत रहेको उल्लेख गरे । पदक दिलाउने खेलाडीहरुलाई कार्यविधि नै बनाएर आगामी दिनमा अझै व्यवस्थित ढंगबाट सम्मान तथा प्रोत्साहन राशी प्रदान गरिने उनले बताए । 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले,आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायत खेलसम्वद्ध विभिन्न संघ संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एरिका र कुशलसहित नेपाली कराँते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।