सहकारी प्रकरणमा रवि दाेषी, ९५ कराेड ठगेकाे लाग्याे बात

काठमाडाै । सहकारीकाे रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दाेषी देखिएकाे छानबिन समितिले देखाएकाे छ ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको हाे।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ । लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् तर छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौं प्रमाण रहेको प्रतिवेदनमा जनाएको छ ।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेका थिए । ‘तीनमध्ये दुई जनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालन भएको देखिन्छ । रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका छन् । कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको हो,’ समितिका एक सदस्यले जानकारी दिए । गए राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको हो । समितिमा आएका सबै प्रमाणले लामिछाने निर्दोष नदेखिएको समिति स्रोतले जानकारी दियो । 

छानबिन समितिमा ९ घण्टा बयान दिँदा, गोर्खा मिडियाका लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै आएका लामिछानेले त्यसअघि गोर्खा मिडिया छाड्ने बेलामा जीबी राईको जस्तो मुटु चाहिन्छ भनेर प्रशंसा गरेका थिए ।  कम्पनीका अध्यक्ष राईले जस्तै प्रबन्ध निर्देशक लामिछानेले पनि सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाई २०७७ वैशाख ५ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट शेयर कायम गराएका थिए ।

लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत शेयरका लागि कम्पनीमा रकम बुझाएको उल्लेख छ । समितिको प्रतिवेदन राति २ः३० सम्म तयार गरिएको थियो । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति २ः३० मा चलेको थियो ।

बैठकले नेपाली कांग्रेसका उपसभाति धनराज गुरुङको विषयमा पनि अनुसन्धानका लागि लेखी पठाउने निर्णय  गरेको छ । ‘कार्यदेशमा उल्लेख नभए पनि समितिमा उजुरी आएको र ठूलो रकम हिनामिनामा गुरुङ दम्पती जोडिएकाले अनुसन्धानको आवश्यकता रहेको समितिको ठहर छ’, समितिका एक सदस्यले भने । समितिले आजको संसद बैठकमा प्रतिवेदन हस्तान्तरण गर्दैछ ।