एजेन्पासी । किस्तानमा तीन ठाउँमा छुट्टाछुट्टै हमला हुँदा कम्तीमा ३७ जना मारिएको खुलेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)का अनुसार पाकिस्तानको बलोचिस्तान प्रान्तको तीन ठाउँमा एकैदिन हमला भएको हो। उक्त हमलामा परी कम्तीमा ३७ जनाको हत्या भएको खुलेको हो।
यसैक्रममा सुरक्षाकर्मीसँग दोहोरो भिडन्त हुँदा बन्दुकधारी समूहका १२ जना पनि मारिएको एपीले समाचारमा उल्लेख गरेको छ।
एपीका अनुसार बलोचिस्तानको मुसाखैल अन्तरप्रदेशीय हाइवेको राराशम क्षेत्रमा बन्दुकधारी समूहले गुडिरहेका सवारी साधनबाट यात्रु उतारेर गोली हानेको थियो। त्यस ठाउँमा बन्दुकधारीहरूले यात्रुहरूको परिचय पत्र हेरेर २३ जनाको हत्या गरेका हुन्।
हाइवेमा आएका बस, भ्यान, ट्रकलाई रोकेर यात्रुहरूलाई उतार्न थालिएको थियो।
मृतकहरू पञ्जाबको रहेको पाकिस्तानी पत्रिका डनले जनाएको छ। १७ वटा ट्रक, दुई वटा भ्यान र चार वटा पिकअप गाडी गरी कुल २३ वटा गाडीमा आगजनीसमेत गरेको असिस्टेन्ट कमिसनर नजीब ककरले बताए।
यस्तै बलोचिस्तानकै कलत जिल्लामा आक्रमण हुँदा कम्तीमा ९ जना मारिएका हुन्। जसमध्ये चार जना प्रहरी कर्मचारी र अन्य यात्रु रहेको खुलेको हो।
बलोचिस्तानकै अर्को सहर बोलनमा ६ वटा शव फेला परेको थियो
बोलानमा रेलवे ट्र्याकमा बिस्फोट पनि गरिएको थियो।
त्यस्तै मस्तुङ जिल्लाको प्रहरी चौकीमा आक्रमण र ग्वादर जिल्लामा सवारी साधनहरूमा आगजनी गरिएको थियो। मस्तुङ र ग्वादरको आक्रमणमा भने कुनै मानवीय क्षति भएको थिएन।
बलोचिस्तानमा सक्रिय रहेको बलोच लिबरेशन आर्मी (बिएलए) नामको आतंकवादी समूहले घटनाको जिम्मा लिएको डनले समाचारमा उल्लेख गरेको छ।
यसअघि गत अप्रिलमा पनि ९ जना यात्रुलाई बलोचिस्तानकै नोशकी जिल्लामा गाडीबाट उतारेर गोली हानेर हत्या गरिएको थियो। त्यतिबेला पनि यात्रुको परिचयपत्र जाँचिएको थियो।
प्रतिक्रिया