बाँके । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको छ ।
निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ । दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको जानकारी दिए ।
“नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ । बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उनले भने ।
झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन । यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ । उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताए ।
प्रतिक्रिया