गठ्ठाघरमा स्कुटर दुर्घटनामा परी मृत्यु हुनेको खुल्यो पहिचान

काठमाडौ । भक्तपुरको गट्ठाघरमा हिजो दिउँसो भएको स्कुटर दुर्घटनामा परी मृत्यु हुनेको पहचान खुलेको छ । ट्रकले ठक्कर दिंदा ज्यान गुमाएका व्यक्ति ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको हो । उनका परिवारका सदस्यले उनको आज सनाखत गरेका हुन् । उनी ओखलढुंगा चिसंखुगढी गाउँपालिका–खहरे तलुवाका भएको पुष्टि भएको हो ।

काठमाडौं कपनमा बस्दै आएका उनी हिजो भक्तपुर गएको परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । हिजो ट्रकले ठक्कर दिँदा उनको शरीर क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन । कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले दुर्घटनामा परेको स्कुटर चालक महिला भएको विवरण सार्वजनिक गरे पनि पछि त्यसलाई सच्याएको थियो । उनको शव अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ ।

यसरी भएको थियो दुर्घटना
बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो ।

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई करिव एक सय मिटर परसम्म घिसारेको थियो । दुर्घटना लगतै आक्रोशित भिड जम्मा भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भिड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भिडले ट्रक तोडफोडसँगै आगजनीको प्रयास समेत गर्‍यो । त्यसपछि आक्रोशित भिड र प्रहरीबीच ढुंगा हानाहान भयो । स्थिति तनावग्रस्त बनेको थियो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भिडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो । घटनामा संलग्न ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ ।