आज यी स्थानमा वर्षाको संभावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौ । अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखी मध्यम वर्षा भइरहेको छ। बाँकी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गुल्मी, जाजरकोट जिल्लाका केही स्थानमा भारी वर्षा

गुल्मी, जाजरकोट लगायत केही जिल्लाका केही स्थानमा भारी वर्षा भएको छ।

बागलुङको गलकोटमा पछिल्लो १२ घन्टामा ८३.४ मिलिमिटर पानी परेको छ। जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको तथ्यांकअनुसार गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा भएको छ।यस्तै म्याग्दीको मुनामा ६९.२, पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा मापन भएको छ।

नेपाल बाढी सूचना केन्द्रले यी स्थान भई बग्ने खोलाको जल सतह बढ्ने पूर्वामानु गरेको छ। यसैले भिरालो जमिनमा पहिरोको सम्भावना हुने हुँदा सतर्क रहन पनि भनेको छ।