प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम ‘बबरमहल (३१५)’ भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन्।
स्वदेश फर्केपछि पनि उनी असुरक्षित महसुस गरी ‘कसैले नचिन्ने’ सहरमा पुगेर बसेकी छन्।
“मलाई सात समुद्रपारि पुर्याएर बलात्कार गरियो। त्यस्तो (जबरजस्ती गर्भपतन) भयो भनेर आमालाई पनि सुनाउन सकिनँ,” यसो भन्दै गर्दा उनको आवाज पटकपटक अवरुद्ध भएको थियो।
“परिवारकी एक सदस्यलाई चाहिँ अहिले थाहा छ। अरूलाई थाहा छैन,” बीबीसीसँगको टेलिफोन कुराकानीमा उनले भनिन्।
‘बबरमहल (३१५)’ले केही वर्षअघिसम्म विदेश जाने सोच बनाएकी थिइनन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए।
एक दशक बाहिर बसेर स्वदेश फर्किएका श्रीमान्सँग सम्बन्ध बिग्रियो। उनीहरू अलग भए।
‘बबरमहल (३१५)’ बनीबुतो गरेर माइतीमा बस्दै आफ्नो सन्तान हुर्काउन थालिन्।
बनीबुतोको कमाइले मात्र भएन भनेर उनले विदेश जाने सोच बनाइन्।
“सीप सिकेर जाँदा राम्रो भन्ने सुनेकाले मैले ब्यूटी पार्लर तालिम लिएँ,” ‘बबरमहल (३१५)’ले भनिन्।
कतिपय म्यानपावर कम्पनीहरूमार्फत् खाडी मुलुकमा जाने प्रयास गर्दा उनले सफलता पाइनन्।
“त्यसै बेला कोभिड आयो र मैले विदेश जान पाइनँ। कोभिड सकिएपछि भने फेरि सुरु गर्नुपर्यो भन्ने भयो,” उनले भनिन्।
कुनै माध्यमबाट उनले एकजना ‘एजेन्ट’को नम्बर पाइन्। फोन गरेर विदेश जाने सोच बताइन्। उनले सहयोगको आश्वासन दिएर काठमाण्डू बोलाए।
कसरी बेचिइन्?
ती दलालले दुबईस्थित महिला बस्ने गरेको एउटा ‘होस्टलमा काम गर्ने भए पठाइदिन्छु’ भनेको उनी बताउँछिन्।
“सुरुमा ३५ हजार अनि तीन महिनापछि ४५ हजार (रुपैयाँ) मासिक पैसा हुन्छ भनेका थिए,” ‘बबरमहल (३१५)’ भन्छिन्।
त्यसपछि आफूलाई दुबईबाट अर्को नेपाली दलालले भिडिओ कल गरेर अन्तर्वार्ता लिएको उनले बताइन्।
“मलाई कामको कुरा सोधेनन्। ‘बिहे गरेको छ कि छैन?’ ‘उमेर कति?’ ‘बोइफ्रेन्ड छ कि छैन?’ जस्ता प्रश्न सोध्दा शङ्का त लागेको थियो तर त्यस बेला काम चाहिएकाले मैले खासै ध्यान दिइनँ,” उनले भनिन्।
“दुई लाख रुपैयाँ लाग्छ भने र मैले पैसा बुझाएको पनि २७/२८ दिनपछि बल्ल भिजिट भिसामा दुबईका लागि एअरपोर्ट पठाइदिए।”
सुरुमा नेपाली अध्यागमन अधिकारीहरूले उनलाई ‘भिजिट भिसा’मा जाने प्रयोजनबारे प्रश्नहरू सोधेर रोकिदिएका थिए। तर दलाललाई फोन गरेको आधा घण्टापछि उनी जान पाइन्।
“मेरो ब्याङ्क खातामा एक पैसा पनि थिएन तर एजेन्टले ‘६ लाख रुपैयाँ भएको स्टेट्मेन्ट निकालेर देखाउनू’ भन्दै दिएका थिए। त्यो सबै सेटिङमा भएको भन्थे,” उनले भनिन्।
भिजिट भिसामा दुबई पुगेकी उनलाई एउटा घरमा लगियो। त्यहाँ अन्य नेपाली महिलाहरू पनि थिए।
“अरू दिदीहरू हुनुहुन्थ्यो तर कोही पनि बोल्न खोज्नुहुन्थेन। हामीलाई कोठामा राखेर त्यो नेपाली दलाल बाहिरबाट गेट लगाएर जान्थ्यो। पासपोर्ट पनि उसैसँग थियो,” उनले भनिन्।
त्यस बेलासम्म पनि उनलाई ‘भिजिट भिसामा आएकाले त्यसरी बस्नुपरेको’ जस्तो लागेको थियो।
विस्तारै त्यहाँबाट महिलाहरूलाई अन्यत्र पठाउन थालियो। विभिन्न देशका पुरुषहरू आउन थाले। ती नेपाली दलाल र अन्य पुरुषले दुर्व्यवहार गर्न थाले।
“बल्ल मलाई नर्कमा पुगेकी रहेछु भन्ने थाहा भयो,” उनले भनिन्, “त्यो नेपालीले सुरुमा जबरजस्ती गर्यो। अरू दिदीहरू भएका बेलामा केही हुँदैनथ्यो तर बिस्तारै पाकिस्तानी र बङ्गाली मान्छे पनि आएर त्यस्तै गर्न थाले।”
बन्धक अवस्थामा लगातार यौन दुर्व्यवहार र बलात्कारको सिकार भएकी उनी गर्भवती भइन्।
त्यहाँका नेपाली दलालले उनलाई “जे हुनु भइहाल्यो, मेरो गल्ती हो, एक पल्टलाई माफ गर” भनेको उनी सम्झन्छिन्।
उनका अनुसार त्यसपछि उनको त्यही घरमा जबरजस्ती असुरक्षित ढङ्गले गर्भपतन गराइयो।
“मैले जीवनमा त्यस्तो पनि भोग्नुपर्ला भन्ने सोचेकै थिइनँ। नेपालमा कुरा गर्दा पनि सुरुसुरुमा त ‘राम्रै छ’ भनेँ, पछि भन्न खोज्दा पनि सकिनँ,” उनी भन्छिन्।
त्यहाँका दलालले उनीहरूलाई नेपालमा आफन्तसँग फोन गर्दा पनि यथार्थ कुरा भन्न दिँदैनथे। त्यस्तो भन्न खोजे प्रहरी बोलाएर थुन्ने धम्की दिन्थे।
“एक दिन मैले नेपालको दलाललाई फोन गरेँ। ‘नेपाल फर्काउनुहोस्, नत्र परिवारलाई भनेर प्रहरीमा उजुरी गर्न लगाउँछु’ भनेँ,” उनी भन्छिन्।
“त्यसपछि ‘अब रित्तो हात फर्कनु हुँदैन, म कुवेतमा काम लगाइदिन्छु, त्यहाँ २०० कुवेती दिनार तलब हुन्छ’ भनेर हामीलाई दुबईको मान्छेले कुवेतमा पठायो।”
कुवेत पुगेपछि उनले थाहा पाइन्- त्यहाँ उनलाई दुई वर्षका लागि बेचिएको रहेछ।
एकजना श्रीलङ्कालीले उनी र उनीजस्तै केही नेपाली महिलाहरूलाई विभिन्न स्थानमा घरेलु कामदारका रूपमा पठाउनका लागि किनेको त्यहाँ पुगेपछि मात्र थाहा भाएको उनी बताउँछिन्।
कुवेतको कष्ट र स्वदेश फिर्ती
उनका अनुसार कुवेतमा उनीहरूलाई एउटा अँध्यारो कोठामा राखिएको थियो। खाना पर्याप्त दिइएको थिएन।
त्यहाँका अधिकारीहरू अनुगमनमा आउँदा कार्यालयमा लगेर चिटिक्क पारेर राखिन्थ्यो र “सबै ठिक छ” भन्न दबाव दिइन्थ्यो।
“पासपोर्ट उनीहरूसँगै थियो। बाहिर निस्किए जेल र फाँसीसम्म हुन्छ भन्थे। जे भन्यो, त्यो नमाने मरिएला भन्ने डर हुन्थ्यो,” उनले भनिन्।
“एक दिन मैले दुबईको दलाललाई फोन गरेर ‘अब नेपालमा मेरो परिवारले उजुरी गर्छ’ भनेर धम्क्याएँ। त्यसपछि ऊ कुवेतमै आयो र हामीलाई सम्झाउन लाग्यो।”
तर उनले नेपाल नफर्काए उजुरी गर्न लगाउने अडान लिएपछि दलालहरूले उनलाई दुई वर्षका लागि लिँदा एक हजार पाँच सय कुवेती दिनार अर्थात् करिब ६ लाख ७५ हजार नेपाली रुपैयाँ तिरेको बताए।
“त्यो पैसा दिए मात्र नेपाल फर्कन पाइन्छ भनेपछि मैले हारगुहार गरेँ। दु:ख पाएको कुरा नै बताएपछि आफन्तहरूले रकम पठाइदिए,” उनले भनिन्।
“त्यसपछि म पैसा बुझाएर नेपाल फर्किएँ अनि प्रहरीमा उजुरी गरेँ।”
अहिले उनलाई खाडी पठाउने नेपालका एक जना दलाल पक्राउ परेका छन्। तर दुबईमा रहेका नेपाली दलालसहित अन्यलाई प्रहरीले केही गर्न सकेको छैन।
धेरैको अवस्था उस्तै
नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूका अनुसार ‘बबरमहल (३१५)’को भन्दा खासै फरक पीडा छैन ‘बबरमहल (३१६)’ को पनि।
उनका अनुसार एक जना नेपाली दलालले आफ्नी श्रीमतीसमेत कुवेतमा रहेको भन्दै ९५ हजार रुपैयाँ लिएर ‘भिजिट भिसा’मा उनलाई कुवेत पठाएको थियो।
उनी कुवेत पुगेपछि ती दलालकी श्रीमतीले ‘बबरमहल (३१६)’लाई दुई वर्षका लागि १,१५० कुवेती दिनार अर्थात् पाँच लाख नेपाली रुपैयाँमा बिक्री गरेको उनलाई पछि भनियो।
बन्धक बनेका अवस्थामा उनीमाथि पनि यौनशोषण र अन्य खाले शोषणहरू भएको उनी बताउँछिन्।
तीन महिनापछि भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी उनले आफ्नो शोषण गर्ने घरमालिकलाई १५० कुवेती दिनार बुझाएर स्वदेश फर्कनुपरेको बताइन्।
उनलाई पठाउने नेपालस्थित दलाललाई अहिले प्रहरीले पक्राउ गरेको छ र उनी हिरासतमा रहेका छन्।
यी दुई महिलाको जस्तै अवस्थामा पुग्ने केही नेपाली महिलाहरूले अहिले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी गरेका छन्।
तर अनुसन्धान अधिकारीहरूका भनाइमा यस्तै बेचबिखनमा परेका अधिकांश महिलाहरूले रकम फिर्ता पाएको अवस्थामा उजुरीसमेत दिएका छैनन्।
‘मानव बेचबिखन भारतबाट खाडीतिर सर्दै’
नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू तथा मानव बेचबिखनविरुद्ध काम गर्ने अधिकारकर्मीहरूका भनाइमा पछिल्ला वर्षहरूमा मानव बेचबिखनका घटना खाडी मुलुकमा धेरै हुन थालेका छन्।
त्यसका विविध कारणहरू रहेको उनीहरूको बुझाइ छ। त्यसमध्ये अहिले रोजगारीको खोजीमा रहेका महिलाहरू खाडीतर्फ जान चाहनु एउटा मुख्य कारण हो।
जानकारहरूका भनाइमा खाडीका देशहरूमा कमादारको माग भएको र कमाइ पनि राम्रो हुन्छ भन्ने सोचले महिलाहरूलाई त्यतातर्फ आकर्षण गरिरहेको देखिन्छ।
“अहिले धेरै महिलाहरूलाई खाडीमा पुर्याएर बन्धक बनाउने वा बेच्ने गरिएको पाइएको छ,” प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्र भन्छन्।
“त्यस्ता गतिविधिहरू पछिल्ला वर्षहरूमा बढिरहेका छन् तर उजुरी गर्न आउने एकदमै कम छन्।”
उनका अनुसार बन्धक भएर रकम बुझाएर नेपाल फर्किएकाहरूमध्ये धेरैलाई यहाँका दलालहरूले सबै पैसा फिर्ता गरिदिएको अवस्थामा उजुरी नै आउँदैनन्।
उनी भन्छन्, “सकेसम्म दलालहरूले लेनदेनकै विषयका रूपमा यस्ता घटनालाई मिलाउन खोज्छन् र पीडितहरू पनि कानुनी प्रक्रियामा जानुभन्दा ‘पैसा आइहाल्यो, अब होस्’ भन्ने मानसिकतामा देखिन्छन्।”
आफैँ पनि कुनै बेला मानव बेचबिखनको चपेटामा परेकी मानव बेचबिखनविरुद्धकी अधिकारकर्मी सुनिता दनुवार पछिल्ला वर्षमा नेपाली महिलाहरू खाडीमा धेरै बेचिन थालेको बताउँछिन्।
“अब पहिले जस्तो भारतका मुम्बई, दिल्ली र कोलकाताका कोठीमा मात्र नेपाली महिला बेचिन्छन् भन्ने भएन। धेरै त अहिले खाडीतिर नै पीडित भइरहेका छन्,” उनले भनिन्।
विगत चार वर्षमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले कुल ६०४ वटा मुद्दा अघि बढाएको छ।
त्यसमा ८४१ जना पीडित रहेकामा ७८९ जना महिला छन् र ती अधिकांश खाडी मुलुकमा बेचिएर पीडित भई नेपाल फर्किएका वा उद्धार गरिएका हुन्।
“जति पीडित महिलाहरू हुनुहुन्छ, अधिकांश खाडीमा नै बेचिएको अवस्था छ,” मिश्रले भने।
ती घटनामा कुल १,२५७ अभियुक्त रहेकामा ७१६ जना पक्राउ परे पनि अझै ५४२ जना फरार छन्।
‘प्रमुख कारण सरकारकै नीति’
खाडी तथा मलेशियामा नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा जान रोक लगाउने संसद् र सरकारको नीतिका कारण खाडीमा नेपाली महिलाको बेचबिखन बढेको दनुवार बताउँछिन्।
विसं २०७३ सालको अन्त्यतिर संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र मलेशियामा जाने नेपाली घरेलु कामदार चरम शोषणमा परेको भन्दै त्यसमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो।
उक्त समितिले ‘सुरक्षाको प्रत्याभूति गरेर मात्र नेपाली महिलाहरूलाई पठाउनू’ भन्ने निर्णय गरेको थियो।
त्यसपछि कानुनी र औपचारिक रूपमा नेपाली महिलाहरू जोर्डन र साइप्रसबाहेक अन्य देशहरूमा जान प्रतिबन्ध लगाइएको छ।
“न उताबाट घरेलु कामदारको माग कम भएको छ, न त नेपालबाट महिलाहरू जाने क्रम नै रोकिएको छ। उल्टै ‘भिजिट भिसा’मा लगेर उनीहरूलाई बेचबिखन गर्ने र बन्धक बनाउने क्रम बढेको छ,” दनुवार भन्छिन्।
“यसको साटो सरकार-सरकारबीच सम्झौता गरेर घरेलु कामदार पठाउने प्रबन्ध गरेको भए आफ्ना नागरिकको अवस्था खोजी गर्न र शोषणमा पर्दा कानुनी उपचार गर्न पनि सहज हुने थियो।”
घरेलु कामदारका रूपमा जान चाहने महिलाहरूलाई खाडीका विभिन्न देशहरूमा पुर्याएपछि दलालहरूले “पासपोर्ट समेत कब्जामा लिएर” बन्धक अवस्थाम राखेका कैयौँ घटनाहरू बाहिर आइरहेको उनी बताउँछिन्।
“कागजमा गरिएको यो प्रतिबन्धले खाडीमा बेचिने मात्र होइन भारत, श्रीलङ्का, म्यान्मारलगायत देशहरूबाट तस्करी गरेर महिलाहरूलाई लैजाने र त्यस क्रममा ती देशहरूमा बन्धक बनाउने क्रम पनि बढेको देखिन्छ,” दनुवार भन्छिन्।
पाँच वर्षअघि भारतको दिल्लीस्थित त्यहाँको महिला आयोगको सक्रियतामा तेस्रो मुलुक पठाइन लागेका कैयौँ नेपाली महिलाहरूको उद्धार गरिएको थियो।
केही वर्षदेखि पूर्वोत्तर भारतका म्यान्मारसँग सीमा जोडिएका राज्यहरूबाट नेपाली महिलालाई खाडीतर्फ तस्करी गर्ने गरेको विवरण आइरहेका छन् र त्यस क्षेत्रबाट पनि केही महिलाहरूको उद्धार भएको थियो।
त्यस्तै श्रीलङ्का पुर्याएर अलपत्र पारिएका केही महिलाहरूको पनि केही वर्षअघि उद्धार गरिएको थियो।
ब्यूरोका प्रवक्ता मिश्र पनि त्यसलाई अस्वीकार गर्दैनन्।
उनी भन्छन्, “हामी विदेश जान पनि रोक्न नसक्ने र आधिकारिक रूपमा घरेलु कामदार पठाउने अवस्था पनि नहुँदा यस्ता घटना बढेर गएका छन्।”
“यहाँ रोजगारीको समस्या छ। यो तत्कालै समाधान नहुने भएकाले उताबाट माग छ र यहाँबाट जाने मान्छे पनि छन्। यस्तो अवस्थामा कुनकुन देशबाट घरेलु कामदार माग भएको छ, त्यसका लागि कानुनी रूपमा पठाउन सकियो भने अलि व्यवस्थित हुन्छ र मानव बेचबिखन कम हुन्छ होला भन्ने लाग्छ।”
‘राष्ट्रिय सहमतिको आवश्यकता’
श्रम मन्त्रालयका अधिकारीहरू पनि घरेलु कामदारलाई पठाउनेबारे देशभित्र सहमति गरेर विभिन्न देशसँग समझदारीको पहल गर्नेबारे छलफल भइरहेको बताउँछन्।
“अहिले विभिन्न देशहरूबाट मस्यौदासहित प्रस्ताव पनि आएका छन्। पहिले हामीले यसमा राष्ट्रिय सहमति बनाएर एउटा टुङ्गोमा पुग्नुपर्ने छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बीबीसीसँग भने।
उनका अनुसार अहिले पनि साउदी अरेबिया, कतार र यूएई लगायतका देशबाट त्यस्तो प्रस्ताव आएको तर त्यो छलफलकै चरणमा रहेको जानकारी दिए।
तर विज्ञहरू सरकारले घरेलु कामदारको विषयलाई खासै महत्त्व दिएको जस्तो नदेखिएको बताउँछन्।
कतिपय विज्ञ तथा अधिकारवादी संस्थाहरूले पटकपटक सरकारलाई देशहरूसँग सम्झौता गरेर सुरक्षाको प्रत्याभूति गरी कामदार पठाउने व्यवस्था गर्न आग्रहसमेत गरेका छन्।
‘बाध्यताले फेरि विदेशिने मन’
‘बबरमहल (३१५)’ले दुबई र कुवेतमा गरी करिब डेढ वर्ष बन्धक बनेर चरम शारीरिक तथा यौन शोषणमा परेपछि उल्टै लाखौँ ऋण थाप्लोमा बोकेर स्वदेश फर्किनुपर्यो।
“मैले फिरौती बुझाए जसरी पैसा बुझाएर ज्यान जोगाएर फर्कनुपर्यो तर अझै दुबईमा बस्ने नेपाली दलाल पक्राउ परेको छैन,” उनले बीबीसीसँग भनिन्।
“सरकारले किन उसलाई पक्रेर ल्याउन सक्दैन?”
असुरक्षा महसुस गरेर आफ्नो जिल्ला समेत छाडेर अन्यत्र बस्न पुगेकी उनलाई अहिले सबैभन्दा बढी आफ्नो बच्चाको पढाइको चिन्ता लागेको छ।
“अहिले म ऋणले थिचिएँ, अब मेरो सन्तानलाई काठमाण्डूमा राखेर उच्च शिक्षा दिलाउने इच्छा छ, तर केही उपाय छैन,” उनले गला अवरुद्ध पार्दै टेलिफोनमा भनिन्।
“भोको पेट र बाध्यताले ‘दु:ख पाएँ, अब विदेश जान्नँ’ भन्दैन रहेछ। नेपालमा काम पाइँदैन। बनीबुतो गरेर घर चल्दैन।”
रोजगारीका लागि विदेश गएर चरम शोषणको सिकार भएकी ‘बबरमहल (३१५)’लाई नेपाल फर्किएपछि विदेश जान मन त लागेको थिएन।
उनले भनिन्, “तर अहिले एक वर्ष हुन लाग्यो। मैले केही काम पाउन सकेकी छैन। अब कसरी जीवन धान्नु? बाध्यताले फेरि विदेशै जानुपर्ने भएको जस्तो लाग्दै छ। अरू उपाय केही छैन।”
‘बबरमहल (३१५)’ले बीबीसीसँगको टेलिफोन संवाद टुङ्ग्याउँदै गर्दा भनिन्, ” कृपया तपाईँले भन्दा हुन्छ भने बरु प्रहरीलाई यो मुद्दा चाँडै टुङ्ग्याइदिनु भन्नू न। मुद्दा नसकिँदै विदेश जान मिल्दैन भन्छन्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।बीबीसीबाट
प्रतिक्रिया