मंकीपक्सको प्रकोप बढेपछि आपतकाल घोषणा, बच्नका लागि यस्तो उपाय अपनाऔँ

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

यस रोगबाट प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए।

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ। यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ। यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ।

यो रोग लागेका सयमध्ये चार जनाको मृत्यु भएको पाइएको छ। बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, केन्या र रुवाण्डासहित अन्य अफ्रिकी देशहरूमा यो रोग फैलिएको छ।

एमपक्सलाई वैश्विक स्वास्थ्य आपतकालको रूपमा घोषणा गरिनाले अनुसन्धान, अर्थ संकलन, र स्वास्थ्य उपचारका अन्य अन्तर्राष्ट्रिय उपायलाई गति दिने आशा गरिएको छ।