काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको मुख थुन्न सरकारले पदक बाँडेको टिप्पणी गरेका छन् । मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा ओलीले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताएका हुन् । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरूले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टी व्यक्त गरे ।
ओलीले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदी इत्यादीलाई पनि वितरण गरिदिएको छ ति पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् ।’ ‘म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’ अध्यक्ष ओलीले गठबन्धनले आकांक्षीलाई २५ जनाभित्र समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणीगरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको ओलीको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध गरे ।
सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो ।’ उनले पदकका आँखा हुन्थे र आँशु हुन्थे भने सर्माएर बरबर रुन्थ्यो भनेर व्यंग्य गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS