काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले मागेको बेला सम्पत्ति विवरण नबुझाउने नेता–कार्यकर्तालाई कारवाही गर्ने नीति अघि बढाएको छ । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा एमालेका नेता–कार्यकर्ताका लागि १५ बुँदे आचारसंहिता प्रस्तुत गर्न लागेको हो ।
प्रस्तावमा ‘पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको’ अवस्थामा कारवाही गर्न सकिने उल्लेख छ । राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्ने उल्लेख प्रस्तावमा पार्टीलाई धक्का पर्ने र पार्टीको हित प्रतिकूल हुनेगरी कसैले कुनै काम गर्न गराउन नहुनेमा जोड दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार कुनै अवस्थामा पार्टी सदस्य वा जुनसुकै कमिटीको कुनै पनि पदाधिकारी, सदस्य तथा कमिटीहरु माथि अनुशासनको कारवाही हुनसक्ने गरी प्रस्ताव आएको छ ।
.पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गर्न पाइने छैन, पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेका वा विपक्षीलाई सहयोग पुर्याएकोमा वा पार्टीविरुद्ध शत्रुवत व्यवहार गर्न पाइने छैन, पार्टी निर्णय उलंघन गर्न पाइने छैन, पार्टीप्रति निष्ठा र विश्वास कमगर्न पाइने छैन, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गर्न पाइने छैन ।
त्यसैगरी पार्टी कमिटीको गोपनीयता भंग गर्न पाइने छैन, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गर्न पाइने छैन, कुनैपनि जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेको, पार्टीको उम्मेदवार बिरुद्धप्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गर्न पाइने छैन,. सरकार, केन्द्रीय वा प्रदेश र स्थानीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय वा निर्देशन विपरीत कार्य गर्न पाइने छैन, नैतिक पतन देखिने, फौजदारी कसुर गरेका वा भ्रष्ट क्रियाकलाप गरेका वा अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रको हितविपरित काम गर्न पाइने छैन, पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गर्न पाइने छैन, पदीय आचारण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न हुन पाइने छैन ।
त्यसैगरी छुवाछुत वा जातीय भेदभाव वा लैङ्गिक हिंसाजन्य क्रियाकलाप गर्न पाइने छैन, पार्टीको विधान या नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालन गर्न आनकानी गर्न पाइने छैन, र अन्त्यमा सार्वजनिक नैतिकता वा सदाचारको उल्लंघन गरेका वा निजको कामबाट पार्टीको साखमा प्रतिकूल असर पर्ने कुनै कार्य गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS