नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जका सटर खाली गरिएको छ । व्यावसायिक प्रयोजनका लागि बहालमा दिइएका ३४ सटर अस्पतालले खाली गराएको हो ।
अस्पताल विकास समितिको अग्रसरतामा खाली गराईएका सटर भत्काई पर्खाल लगाइनेछ । सटरमा मेडिकल, ल्याब, होटल, किरानालगायत व्यावसायिक पसल सञ्चालन हुँदै आएका थिए । मासिक १० हजारदेखि १ लाखसम्म लिने गरी बहालमा दिईएका सटरहरू खाली गर्ने विषयमा केही समय यता व्यवसायी र अस्पतालबीच विवाद हुँदै आएको थियो ।
भाडा बुझाउन बाँकी व्यवसायीलाई ६ महिनाको समयअवधि दिने, कोभिड प्रभावका कारण दुई महिनाको भाडा नलिने सहमति भएको अस्पतालले जनाएको छ ।
सटरको आय विवरण पारदर्शी नभएको गुनासो व्याप्त छ । यस विषयमा सम्बद्ध निकायको ध्यान जान जरुरी छ ।
बच्चा फेरि साटियो
भेरी अस्पतालमा भएको नवजात शिशुको मृत्यु प्रकरणमा गठित छानबिन समितिले सुझावसहितको प्रतिवेदन पेश गरेको छ ।
भदौ ९ गते साँझ ६ बजे बच्चा साँटिएको घटना रहस्यमय भन्दै आफन्तले छानबिनको माग गर्दै आएका थिए ।
प्रतिवेदनले घटनाका विषयमा भेरी अस्पताल प्रशासन र स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै घटनाबारे प्रसूति कक्षमा रही बिरामीको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ, प्रसूति कक्ष इञ्चार्ज वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक जयन्ती श्रेष्ठ, अनमी छत्रावती पुन मगरले बच्चा भर्नादेखि अन्तिम अवस्थाबारे अभिभावकलाई जानकारी गरिएको उल्लेख छ ।
प्रतिवेदनमा एनआईसियुमा कार्यरत स्वास्थ्यकर्मी बालरोग विशेषज्ञ डा. विष्णुकुमार थापा, अस्पताल नर्सिङ निरीक्षक अनिता पोखरेल, अनमी देविका बस्नेत र स्टाफ नर्स निशा चन्दको भनाइअनुसार सो बच्चा भर्ना हँुदा बेड नभएकाले चन्द्रा बि.क.को बच्चा रहेको बेडमा राखिएको र दुवैको स्वास्थ्य अवस्था जटिल भएकोले उपचारका क्रममा चन्द्रा बिकको बच्चा सोही दिन बेलुका ६ बजे मरेको जानकारी अभिभावकलाई दिएको उल्लेख छ ।
उपचारको क्रममा गीता थारुको बच्चाको नामको ट्याग फुस्केको र संयोगवश एउटै बेडमा रहेकी चन्द्रा बिकको बच्चाको हातमा टाँसिन गएको ड्युटीमा रहेका कर्मचारीले समितिलाई बताएका छन् । एउटै बेडमा दुईवटा बच्चा राखी उपचार दिनुपर्ने भएकाले यस्तो हुन गएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै छानबिन समितिको प्रतिवेदनले घटनाको सम्बन्धमा भेरी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाले चन्द्रा बिकको बच्चा दाहसंस्कार गर्ने क्रममा अभिभावकले ट्यागमा फरक व्यक्तिको नाम देखेपछि मृत बच्चा अस्पतालमा लिएर आएका र चेकजाँच गर्दा बच्चाको दुवै हातमा ट्याग भेटिएको बताएका छन् । मृत बच्चा चन्द्रा बिकको नै भएको प्रमाण रहेको प्रमुख थापाले छानबिन समितिलाई बताएका छन् ।
छानबिन समितिले पेश गरेको ९ पृष्ठ लामो प्रतिवेदनमा भेरी अस्पताललाई ११ बुँदे सुझाव पेश गरेको छ ।
यसरी पेश गरिएको सुझावहरूमा एउटा बेडमा दुईवटा बिरामी नराख्ने, जुनियर स्टाफले गरेको कामलाई सिनियर स्टाफले निरीक्षण गर्ने र कामको जिम्मेवारी लिनुपर्ने, एउटै बिरामीलाई दुईवटा आमाको ट्याग लगाउने जस्ता गल्ती भबिष्यमा हुन नदिन आवश्यक सजगता अपनाउनुपर्ने, बच्चालाई एनआइसियुमा राख्ने अवस्था आएमा बिरामीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी लिई अभिभावकको स्वीकृति लिएर मात्रै भर्नाको ब्यवस्था मिलाउने, बेड क्षमताभन्दा बढी बिरामी भर्ना नलिने, डयुटीमा रहेका ड्युटी स्टाफ, इञ्चार्ज तथा ड्युटी चिकित्सक बीच समन्वय बढाउनुपर्ने, अस्पतालबाट दिईने सेवा प्रभावकारी र गुणस्तरिय बनाउन ड्युटी स्टाफ, नर्स तथा सम्बन्धित चिकित्सकबीच मासिक रूपमा कम्तीमा १ पटक बैठक तथा अन्तरक्रिया कार्यक्रम गर्ने, अस्पतालमा तालिममा आएका शिकारु चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको भरमा मात्र प्रसूति सेवा, एनआईसियु सेवामा संलग्न नगराई ड्युटीवाला नर्स, चिकित्सकबाटै स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, अस्पतालको व्यवस्थापन पक्ष मेडिकल सुपरिन्टेन्डेन्ट तथा विभागीय प्रमुखबाट मासिक रूपमा सो विभागका राम्रा तथा कमी कमजोरी पक्षको विश्लेषण गरी देखिएका कमीकमजोरी हटाउन आवश्यक प्रवन्ध मिलाउनुपर्नेे, प्रसूतिकक्ष सुझावपेटिकाको व्यवस्था गरी दैनिक रूपमा प्राप्त भएका आवश्यक सुझावलाई यथोचित कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएको छ ।
प्रतिवेदनका विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एउटै बेडमा दुई वटा बच्चाहरू राखेका कारण भूलवश घट्ना हुन गएको उल्लेख गरिएको बताए । सो समयमा ड्युटीमा रहेका कर्मचारीको डुय्टी चेञ्ज भएका कारण सो घट्ना हुन गएको प्रतिवेदनले देखाएको बताए । दुबै पक्षसँगको सोधपुछको आधारमा प्रतिवेदन तयार गरिएकाले प्रतिवेदन सबैका लागि स्विकार्य हुने प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ थियो । प्राप्त प्रतिवेदनको अध्ययन गरेर सो प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनका लागि भेरी अस्पताललाई लिखित रूपमा पठाउने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
नवजात शिशु घटनाको छानबिन समितिमा बालरोग विशेषज्ञ डा.रोमा बोरा, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, अधिवक्ता बसन्त गौतम, जनस्वास्थ्य अधिकृत नरेशवावु श्रेष्ठ, प्रहरी निरीक्षक ईश्वरदेव गिरी समितिमा थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS