काठमाण्डौं । पार्टी विभाजनको राप र तापमा परेको नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो । ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’ जनप्रतिनिधिलाई अपानीमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’
तर वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । गत मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । यसरी समाजवादीमा लाग्नेहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेका छन् ।
स्मरण रहोस् सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS