काठमाण्डौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले देशभरका सबै स्थानमा भदौ १८ गते वडा अधिवेशन सुरु हुनुपर्ने मागका कारण प्र.म. देउवालाई तनाव भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल पक्षका नेताहरुले ६ हजार ७४३ वटै वडामा एकै दिन अधिवेशन हुनुपर्ने माग अघि सारेपछि धाँदली गर्ने शुरमा रहेका देउवालाई तनाव भएको हो । त्यसमाथि पहिले जिल्ला सभापतिहरुको माग सम्बोधन हुनुपर्ने बैठकमा नेताहरुले माग गरेको बुझिएको छ । क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने र त्यसमा सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक–फरक मापदण्डलाई एकरूपता दिनुपर्ने माग जिल्ला सभापतिहरुको छ । जिल्ला सभापतिहरू बुधबारदेखि कांग्रेस मुख्यालयमा रिले अनसन बसिरहेका छन् । तर जिल्ला सभापतिहरूको माग सम्बोधन नगरी ३८ जिल्लाको मात्रै क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेपछि पौडेल समूहका नेताहरुले संस्थापन पक्षले महाधिवेशन सार्ने दाउ गरेको आरोप लगाएका छन् ।
पौडेल समूहले ३८ जिल्लामा मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउँदा अपुरो भएको गुनासो गर्दैआएको छ । साथै सदस्यता छानविन समितिमा बसेका रमेश लेखक, कृष्ण सिटौला र पौडेलसँग गरिएका प्रतिवद्धता पूरा नभएको उनीहरुको गुनासो छ ।
निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्राप्त भएको १९ दिनपछि मात्रै वडा अधिवेशन गर्न सकिने कार्यतालिका बुझाएको थियो । तर, नेताहरूले समयमा नामावली दिन नसकेका कारण निर्वाचन समिति भने अन्योलमा छ ।
विधान र संविधानको व्यवस्थावमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर यतिका दिनसम्म पनि क्रियाशील सदस्यताको सूचीनै सार्वजनिक गर्न सकेको छैन ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता अर्जुननरसिंह केसी, रामशरण महत र केन्द्रीय सदस्यहरू शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताको सहभागिता थियो ।
स्मरण रहोस् अधिवेशन कार्यतालिकाअनुसार गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । आगामी मंसिर ९–१३ मा कांग्रेसको महाधिवेशन गर्ने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS