काठमाडौं । एमाले नेता माधवकुमार नेपालले केपी ओलीकै कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन् । पार्टी कमजोर हुनुमा केपी ओलीले आत्मसमीक्षा गर्नुपर्ने नेता नेपालको भनाइ थियो ।
आफू पक्षीय ६ वटा जनवर्गीय संगठनका नेता तथा कार्यकर्तालाई सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । अपराह्न ४ बजेपछि नेता नेपालले आफू पक्षीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीप्रति कडा टिप्पणी गरेका थिए । यस क्रममा उनले ओलीकै कारण पार्टी विघटनको अवस्थामा आइपुगेको आरोप समेत लगाएका थिए ।
पार्टीलाई विघटनको अवस्थामा पु¥याएको, नेपाली कम्युनिस्ट आन्दोलन कमजोर बनाएको, दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई खुम्च्याएको, दोष जति सबै अरुलाई दिने गरेको, आफ्नै नजिकका कार्यकर्तालाई पनि चिढ्याएको, आत्म समीक्षा नगरेको, देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको, देशभक्तिको झण्डा सुरुमा उठाए पनि पछि फालेको आरोप लगाएका छन् । त्यसैगरी विदेशीसँग लम्पसार परेको, लोकतन्त्रको मुल्य मान्यतालाई परित्याग गरेको, राजावादी शक्तिहरुसँग साँठगाँठ गरेको, निकट नेता र कार्यकर्तालाई संघीयता विरोधी आवाज उठाउन लगाएको, ५ वर्षका लागि बनेको संसद २÷२ पटक विघटन गरेको, सर्वोच्च अदालतको आदेश नमानेको, कुर्सीमोहमा लिप्त भएको र बिध्वंसकारी संस्कृति देखाएको आदि रहेका छन् ।
त्यसो त नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ओली सच्चिएर आए जहिले पनि एकता हुन सक्ने बताएका छन् । अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली सच्चिएर आए एकताका लागि तयार रहने बताएका हुन् । उनले कार्यकर्ताहरूलाई संगठन गर्नसमेत निर्देशन दिए । उनले ओली अहंकारको घोडामा सवार भएर आफूलाई सर्वाधिकारसम्पन्न भएको ठान्दा समस्या आएको बताए । ओली एउटा सानो गुटको नेतामा मात्रै सीमित भएको नेपालको आरोप छ । प्रधानमन्त्री बनेपछि ओलीमा झन–झन् दम्भ बढेको उनको टिप्पणी थियो । ओलीका कारण पार्टीले भोगेको क्षति पूरा गर्न लामो समय लाग्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS