काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।
यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ ।
एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो । र अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । ज्वालाबाहेक सबै सदस्य यथावत राखेर विवरण पठाइएको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीमा विभाजन ल्याउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै यसविरुद्ध गम्भीर खबरदारी र सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेको स्थायी समिति बैठकले सरकारले ल्याउन लागेका अध्यादेश लोकतान्त्रिक प्रणालीविरुद्धमा रहेको निष्कर्षसमेत निकालेको छ ।
‘एक दर्जन अध्यादेशमा निर्णय गर्नुपर्ने, कयौं विधेयक टुंगो लगाउनुपर्ने र जनसरोकारमा विषयमा बहस गर्नुपर्ने अवस्थामा १ महिनासम्म संसदलाई बिजनेस नदिइ हठात अधिवेशन अन्त्य गरिएको छ,’ एमालेले भनेको छ, ‘यसले विगतमा गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा भनिएका विषयहरु ढोंग र अवरण मात्रै थिए भन्ने पुष्टि हुन्छ’ भन्दै सरकारको यो कदमले हालै जारी गरिएको साझा न्यूनतम कार्यक्रममा व्यक्त प्रतिवद्धताको पनि धज्जी उडेको एमालेले जनाएको छ ।
‘प्रमुख प्रतिपक्षीदलभित्रका केही पदलोलुप र अराजक व्यक्तिलाई विभाजनका लागि वैधानिक आधार तयार गर्ने र लोकतान्त्रिक प्रणालीभित्र अराजकता निम्त्याउने यसको निहित उद्देश्य हो,’ एमालेले भनेको छ, ‘यस्ता असंसदीय र विभाजनकारी क्रियाकलापको गम्भीर विरोध र खबरदारी तथा सशक्त प्रतिवाद गरिनेछ । यसबाट उत्पन्न परिणामको जवाफदेही सरकार हुनुपर्छ ।’ बैठकले एमाले विभाजन गर्ने सबै षडयन्त्रविरुद्ध दृढतापूर्वक उभिन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS