चीन र भारतबाट अनुदान र खरिद गरेर नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप ल्याइएको छ । सरकारले अर्डर गरेको खोप आउने क्रम जारी छ । पहिलो चरणमा कोरोनाको फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई लक्षित गरेर खोप लगाइएको थियो । पछि क्रमशः लक्षित वर्गको क्षेत्र फराकिलो बनाइँदै गइयो ।
जेष्ठ नागरिक, शिक्षक र चालक र सहचालकलाई पनि खोपको लक्षित वर्गमा समेटिएको छ । उमेर, वर्ग र पेशाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन जारी छ । तर पछिल्लो समय लक्षित वर्गभन्दा बाहिरका व्यक्ति हावी भएपछि देशका धेरै ठाउँमा खोप कार्यक्रम नै स्थगित भएका छन् । देशैभर खोप दुरूपयोग भएको छ । अर्थात प्रभावकारी वितरणमा सम्बन्धित निकाय चुकेको छ । जेष्ठ नागरिक लगायतका लक्षित वर्ग भने घन्टौं लाम लागे पनि खोप नपाएर घर फर्कन बाध्य छन् । जसका कारण दिनभरी ठेलमठेल गरेर लाईनमा बस्ने र बेलुका कोरोना लिएर घर जाने अवस्था सिर्जना भएको विषयप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
त्यसो त खोप केन्द्रमा मापदण्ड पालना नगरेको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग जानकार छन् । यति हुँदाहुँदै पनि एकपछि अर्को दुरूपयोगका खबर सार्वजनिक हुनु दुर्भाग्य नै हो । मन्त्रालय र विभागका अधिकारी पद र शक्तिका आडमा खोपमा भइरहेको मनोमानी रोक्न नसक्नु दुःखद् कुरा हो । सरकारले सक्ने भए सबै नागरिकलाई खोप सुनिश्चित गर्नुपर्छ । होइन भने नीतिगत व्यवस्था गरेर लक्षित वर्ग भनिसकेपछि उनीहरूलाई छुट्याएर पहुँचका आधारमा भइरहेको बेथिति रोक्न सक्नुपर्छ ।
वास्तवमा खोपमा तछाड–मछाड गर्नेभन्दा कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु आजको प्रमुख आवश्यकता हो । नियमित मास्क लगाऔं, बेला बेलामा साबुनपानीले हात धुने गरौं, स्यानीटाइजर प्रयोग गरौं, कम्तीमा पनि दुई मिटरको भौतिक दूरी पालना गरौंर रोगप्रतिरोधात्मक क्षमता बढाउने पोसिला खानेकुरा खाने हो भने कोरोना खोप नै लगाउनु पर्ने अवस्था आउँदैन । र सहर बजारमा अनावश्यक भीड बढाउने अनि खोप मात्र खोज्नुको कुनै औचित्य हुँदैन । त्यसकालागि खोप लगाउने कार्यलाई प्रभावकारी बनाउने र लाभग्राहीले पनि मापदण्ड पालन गरेर अघि बढ्ने हो भने कोभिडको तेस्रो श्रृंखलालाई सहजै परास्त गर्न सकिन्छ । चेतना भया

तपाईको प्रतिक्रिया

RELATED POSTS