काठमाडौं । कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि सरकारले केही दिनअघि १४ जिल्ला र केही जिल्लाका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेजहरु बन्द भएसँगै आगामी जेठमा सञ्चालन हुने एसइई र कक्षा १२ को परीक्षाबारे भने अन्योल उत्पन्न हुन पुगेको छ । गएको वर्ष पनि एसइई र कक्षा १२ को परीक्षा प्रभावित बन्न पुगेको थियो । गएको वर्ष चैत ११ गते लकडाउन भएपछि लामो समयसम्म लकडाउन खुलेन र एसइईका परीक्षार्थीहरुले परीक्षा दिन पाएनन् । उनीहरुले विद्यालयमा ल्याएको प्राप्तांकको आधारमा श्रेणी पाएका थिए । यस पटक पनि एसइईको परीक्षाको मुखमै विद्यालयहरु बन्द भएपछि गएको वर्षजस्तै परीक्षा दिन नपाइने हो कि भन्ने चिन्ता विद्यार्थी र अभिभावकमा परेको छ ।
१४ जिल्ला र अरु जिल्लाका सहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएपछि कक्षा १२ को परीक्षा पनि अन्योलमा परेको छ । गएको वर्ष पनि कक्षा १२ को परीक्षा लामो समयसम्म रोकिन पुगेको थियो । कोभिड–१९ को जोखिम घट्दै गएपछि बल्ल परीक्षा सञ्चालित भएको थियो । यसपालि के हुने हो भन्ने अन्योल झनै बढ्न पुगेको छ ।
गएको मंसिरमा लकडाउन खुलेपछि कोभिड–१९ को संक्रमण मत्थर हुँदै गएको थियो । तर, पछिल्लो समय भने यसको असर पुनः देखा पर्न थालेको छ । कोभिड–१९ को असर विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा पर्न थालेपछि शैक्षिक संस्थाहरु बन्द गर्नतिर सरकारले तत्परता देखाएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसमा सरकारले सहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गरी भर्चुअल माध्यमद्वारा पठनपाठन गर्ने निर्णय गरेको हो । पछिल्लो समय बालबालिकाहरु बढी संक्रमित देखिएका छन् । अहिलेसम्म करिब ३५ सय कम उमेरका विद्यार्थीहरुमा संक्रमण देखिएपछि जोखिम बढेको बताउँदै शैक्षिक संस्थाहरु बन्द गरिएका हुन् । वैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएकोमा त्यसपछि भने संक्रमणको अवस्था हेरेर शैक्षिक संस्थाहरु खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय लिने पनि जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS