लगातार तीन घण्टा ७ मिनेट नृत्य गरेर राष्ट्रिय रेकर्ड बनाएका विराटनगरका नाट्य सम्राट् कामेश्वर झाको मृत्यु पनि गुमनाम भएको छ ।
नेपाल कला विकास परिषद् संस्थाका चर्चित नाटक निर्देशक उमाकान्त झाका छोरा विराटनगर निवासी कामेश्वर झाले आफ्नो सबै जीवन नृत्यमा अर्पण गरेर मरे पनि कसैले सम्झना नगर्दा उनको मृत्यु गुमनाम बनेको हो ।
तीन वर्षपहिले झापाको दमकमा असाध्य रोगले गर्दा ७४ वर्षको उमेरमा नृत्य सम्राट् कामेश्वर झाको मृत्यु भएको थियो । तर सिंगो जीवन नै नृत्यमा खर्चेका कामेश्वरको मृत्युबारे धेरैले खबर नै पाएनन् । पाउनेहरूले पनि मलामीसम्म जान चासो दिएनन् ।
त्यो बेला झापा दमकका प्रसिद्ध लोकगायक एलपी जोशीले उनको गुमनाम मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । दलित समुदायकी कान्छी श्रीमतीको घर (माइत) झापाको दमकमा रोगले थलिएर बस्दै आएका चर्चित नृत्यकार झाको मृत्यु भएको थियो । त्यो बेला उनको दाहसंस्कारमा मलामी जानेहरू माइती पक्षका मात्र थिए ।
०२४ सालमा भानु जयन्तीका अवसरमा लगातार ३ घण्टा ७ मिनेट नाचेर रेकर्ड बनाएका थिए नृत्यकार कामेश्वरले । उनले बनाएको त्यो रेकर्ड अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । आफ्नो सबै जीवन नृत्यमा समर्पण गरेका कामेश्वर क्लासिकल नृत्यका चर्चित र दक्ष नृत्य प्रशिक्षक पनि हुन् ।
विराटनगरमा विराटेश्वर नृत्य कलाकेन्द्र सञ्चालन गरेर कामेश्वरले हजारौँलाई नृत्य सिकाएका थिए । उनका चेलाका अनुसार उनले नृत्य सिकाएका चेलाचेली राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् ।
सामाजिक सम्मान
नृत्यकार चतुर्भुज आशावादीका चेला कामेश्वरको मृत्यलाई कसैले चर्चा गर्ने गरेका छन् न त उनको योगदानबारे कसैले केही स्मरण गराएका छन् । उनका सहकर्मी राष्ट्रिय सभाका पुर्व सांसद खेम नेपाली स्वर्गीय नृत्यकार कामेश्वर झा नृत्य क्षेत्रका सम्राट् नै भएकोले उनलाई समाजले सम्मान दिनु जायज हुने बताउँछन । मोदनाथ प्रश्रित शिक्षामन्त्री भएको बेला नेपालीकै पहलमा कामेश्वरले २०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएका पाएका थिए । तर, समाजमा भने उनको सम्झना भएको छैन । कामेश्वरलाई सम्झँदै पूर्वसांसद नेपालीले भने, ‘नृत्यकार कामेश्वरका नाममा केही सम्मान र पुरस्कार स्थापना गर्न हामी पहल थाल्नेछौँ ।’
उदीतदेखि शिवसम्म
राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउन सफल कामेश्वरले गायक उदीतनारायण झादेखिअभिनेत्री दीपाश्री निरौलासम्मलाई नृत्य सिकाएका थिए । राष्ट्रिय सभाका पूर्वसांसद तथा सहकर्मी खेम नेपालका अनुसार सिने क्षेत्रका आधा दर्जन नायक÷नायिकालाई कामेश्वर झाले नृत्य सिकाएका थिए ।
उनका चेला साइमन राजवंशी अझै मुम्बईमा फिल्मी क्षेत्रमा व्यस्त छन् । २०२३ सालदेखि कला क्षेत्रमा लागेका उनी मृत्यु नभएसम्म निरन्तर नृत्यको विकासमा लागिरहे । कामेश्वरले विराटनगरमा डान्स सेन्टर चलाइरहेका सागर साह कलाकार केशव रायमाझी, नायक धीरेन शाक्य, शिव श्रेष्ठ, नायिका मौसमी मल्ल लगायतलाई नृत्य सिकाएका थिए ।
नृत्यकार कामेश्वर कलाकारलाई राजनीतिले ‘युज एन्ड थ्रो’ गर्ने गरेको भन्दै विरोध गर्ने गर्थे । उनले संविधानमा कलाकारको सम्मान र सुनिश्चितताबारे हक अधिकार राख्नुपर्ने वकालत पनि गर्ने गरेका थिए ।
चार विवाह
आफ्नो जीवनकालमा चार जना महिलासँग विवाह गरेका नृत्यकार कामेश्वरको मृत्यु भने दलित समुदायकी परियार थरकी कान्छी श्रीमतीको घरमा तीन वर्षअघि झापाको दमकमा भएको थियो । उनले ०२५ सालमा दार्जिलिङको अनु क्षेत्रीसँग विवाह गरेका थिए । तर, सन्तान नभएपछि सल्लाहमा ०२७ सालमा प्रमिला पोखरेलसँग दोस्रो विवाह गरे । तर, अनुसँग उनको सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि कामेश्वरले हेमा झासँग विवाह गरे र जीवन बिताए । तर, श्रीमती भए पनि उनले आफूसँगै नृत्य सिक्ने झापा दमककी छोरी समानकी परियार थरकी युवतीलाई श्रीमती बनाएर माइतमा राखे । दलित भएकाले उनले त्यो सम्बन्ध भने बाहिर ल्याएनन् । तर, आफ्नो पारिवारिक जीवन राम्रो हुन नसकेपछि उनी अन्तिम समयमा तीनै परियार थरकी कान्छी श्रीमतीसँग झापामै गएर बसे । उनी पक्षघातको बिरामले लामो समय थलिए । उनको झापा दमकमै मृत्यु भयो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS