अन्ततः नेपाल पत्रकार महासंघको निर्वाचनबाट प्रेस चौतारी नेपालले आफ्नो वर्चस्व गुमाएको छ । पत्रकार महासंघको इतिहासमा लगातार तीन कार्यकाल वामपन्थी पृष्ठभूमिको अध्यक्ष रहँदै आएकोमा १० वर्षपछि महासंघ फेरि प्रजातन्त्रवादी पत्रकारहरुको पोल्टामा गएको छ । यसो हुनुको कारण हो, प्रेस चौतारीको विभाजन ।
महासंघमा यसपटक जम्मा १३ हजार ८ सय मतदाता रहेकामा ११ हजार ४ सय ४ जनाले मतदान गरे । त्यसमध्ये ५ सय मत बदर भएको छ । पत्रकारजस्तो राष्ट्रको चौथो अंगको निर्वाचनमा ५ सय मत बदर हुनु लाजमर्दो कुरा हो । यसबाट प्रश्न उठेको छ कि, विभिन्न पत्रकार संगठनमा कस्ता–कस्ता मान्छे आवद्ध छन् ? डटपेनले टिक लगाउनुपर्ने भोट हाल्दा पत्रकारकै भोट बदर हुने भएपछि पत्रकार भनेका कण्डक्टर र खलासीभन्दा गएगुज्रेका भए कि भएनन् ? डटपेनले धर्को कोर्न नजान्ने मान्छे पत्रकार हुन् कि होइनन् भन्ने प्रश्न यसले जन्माएको छ ।
यसपटक पत्रकारको चुनावमा प्रगिगमनविरोधी पत्रकारहरुको मोर्चा बन्यो । त्यसको अगुवाई प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (माधव नेपाल) ले ग¥यो । यही समूहले सबै सीट जित्यो । एक प्रकारले भन्ने हो भने हिजो पनि प्रतिगमनविरुद्ध पत्रकारहरु सडकमै थिए । यो चुनावलाई पत्रकारहरुले आन्दोलनकै रुपमा लिएर गए र प्रतिगमनको कित्तामा उभिएकाहरुलाई गतिलो झापड मत परिणामले दिएको छ । लोकतन्त्र सुदृढिकरण र रक्षाका लागि पत्रकारहरु एकै ठाउँमा उभिनु राम्रो पक्ष हो । हिजो जसरी पत्रकारले प्रतिगमनको विरुद्ध मोर्चाबन्दी गर्दै आइहरेका थिए, त्यसलाई निरन्तरता दिएका छन् । यो स्वतन्त्र प्रेस र लोकतन्त्रका लागि खाँचो पनि थियो ।
परिणाम जे आयो, त्यसलाई स्वाभाविक मान्नुपर्ने देखिन्छ । किनभने, प्रतिगमनको विरुद्ध उभिएको प्रेस चौतारी र प्रतिगमनको रक्षामा उभिएको प्रेस चौतारी दुई समूहमा विभक्त छ । दुई खेमामा चौतारी हुँदा यसले ठूलो उपलव्धी गुमाएको छ । महासंघमा ५ हजार हाराहारी प्रेस चौतारीको सदस्य छन्, त्यही हाराहारीमा प्रेस युनियन, प्रेस सेन्टर र अन्य समूह गरी झण्डै तीन हजार हाराहारी सदस्य छन् । अहिले प्रेस चौतारी एकै ठाँउमा उभिएको भए पत्रकार महासंघ सिंगो वामपन्थीको कब्जामा पर्ने थियो । यो अवसर प्रेस चौतारीले गुमायो । कारण चौतारी नै विभाजित मनस्थितीमा मैदानमा उत्रिएको थियो । विगतका बर्षमा प्रेस चौतारीले दुई पटक अध्यक्ष जितेको इतिहास छ । ५० प्रतिशतभन्दा बढी पदाधिकारी र जिल्लामा जितेको इतिहास थियो । अहिले चौतारी विभाजित हुँदा जिल्ला जिल्लामा कमजोर बन्यो र केन्द्रीय चुनावमा पनि कमजोर बन्यो । यद्यपि केन्द्रमा माधव नेपाल पक्षधरले जति सिट पाएको थियो ती सबै सिट जित्नुलाई ठूलो उपलव्धी मान्नुपर्दछ ।
अब पत्रकार महासंघमा सदस्यता शुद्दिकरणको काम तीव्र गतिमा अघि बढ्नुपर्ने अवस्था देखिएको छ । विगतमा १० जनाबाट छानिएर एकजना पार्षद आउँथे । नेतृत्व चयनमा पार्षद मतदाताका रुपमा रहन्थे । यसपटक जिल्ला जिल्ला, एसोसियट, प्रतिष्ठानमा हरेक पत्रकारले मतदान गर्न पाउने अधिकार सुनिश्चित ग¥यो । तर, जिल्ला जिल्लामा चुनाव जित्ने नाममा जसरी गैरपत्रकारलाई सदस्यता वितवरण गरियो त्यसले गर्दा महासंघ भोलीका दिनमा गैरपत्रकारको हातमा पर्ने हो कि भन्ने चिन्ता देखिन थालेको छ । जिल्लामा सदस्यता वितवरण गर्दादेखि नै पत्रकारितामा काम गरेको, योग्यता, अनुभव, क्षमता, क्रियाशिलता सबै कुरालाई मापदण्ड बनाएर शुद्धिकरण गर्दै आएको भए गैरपत्रकारको प्रवेश रोक्न सकिन्थ्यो । चुनाव जित्ने नाममा जिल्ला जिल्लामा गैह्र पत्रकारलाई घुसाइएको परिणामस्वरुप ५ सय मत बदर भयो ।
त्यसमाथि उरन्ठेउला केटाकेटीको हातमा सरकारी प्रेस चौतारी परेका कारण सरकारी चौतारीले आफू सकिएर मिशन पनि सिध्याउन खोज्यो । प्रतिगमनविरोधी कित्ताको प्रेस चौतारीले फागुन ५ गते छलफल गरेको थियो । त्यहाँ म, किशोर श्रेष्ठसहित पूर्वअध्यक्षहरु बालकृष्ण चापागाईं, गगन विष्टलगायत साथीहरु थियौं । हाम्रो जोड थियो संगठन विभाजित छ, देशभरका साथीहरुको आधा बल हुँदाहुँदै पनि सबै गुमाउनु राम्रो होइन । हिजोको दिनमा नेपाल पत्रकार महासंघमा पकड जमाउने उदेश्यले नै प्रेस चौतारी जन्मिएको हो । प्रेस चौतारी फुटेको अहिलेको अवस्थामा जोड्नका लागि के गर्ने त ? भन्ने प्रश्न उठ्दा किशोर श्रेष्ठले प्रस्ताव गर्नुभयो, ‘हामी फुट्नुहुन्न । प्रेस चौतारी एक ठाउँमा उभिने, त्यो हुँदा आधा बल हामीसँग हुन्छ । त्यसपछि वाम गठबन्धन गरेर चुनाव लड्ने, स्वतन्त्र, साना पार्टी समेटेर चुनाव लड्न सक्यौं भने यसपालीको पत्रकार महासंघको केन्द्र कब्जा गर्न सक्छौं ।’ यस आधारमा शम्भु श्रेष्ठलाई उम्मेद्धार उठाऔं, सबैले मान्छन् भन्ने कुरा किशोरजीले प्रस्ताव गर्नुभयो । त्यो प्रस्ताव लिएर साथीहरु गणेश बस्नेत, सूर्य थापाहरुसँग जानुभयो । उहाँहरुले शम्भु श्रेष्ठको नाम हामीलाई स्वीकार्य हुँदैन, प्रधानमन्त्रीले पनि मान्नहुन्न भनेर फिर्ता पठाइदिनुभयो । प्रेस चौतारीलाई एक ठाउँमा ल्याऔं भन्ने कुरा अघि बढ्नै सकेन । उनीहरुले प्रेस चौतारीलाई एकै ठाउँमा ल्याउने प्रस्ताव अस्वीकार गरिसकेपछि प्रतिगामी कदमका विरोधीहरु एक ठाउँमा उभियौं । वामपन्थी एक हुँदा झण्डै आठ हजार मतका साथ हामीले निर्वाचन जित्थ्यौं । सैद्धान्तिक रुपमा वामपन्थीहरु एक ठाउँमा उभिनुपर्दछ भन्ने कुरालाई गणेश बस्नेतहरुले अस्वीकार गरेका कारण उनीहरुले शर्मानाक पराजय भयो । केन्द्रमा सिंगो प्यानल शून्यमा झ¥यो । केपी ओलीको जिल्ला, सञ्चारमन्त्रीको गृह जिल्ला, गोकुल बाँस्कोटाको जिल्लामा सरकार पक्षीय चौतारीले हा¥यो । सिंगो वामपन्थी आन्दोलनलाई जोगाउनुपर्छ । त्यसको पहल पत्रकारहरुको चुनावबाट गरौं भन्ने हाम्रो प्रयास थियो । अहिले पत्रकार महासंघ हामीले कब्जा गर्न सकेको भए फुटेर गएका बामपन्थीहरुलाई मनले जोड्ने काम गर्दथ्यो ।
महासंघ चुनावको दुई दिनअघि गणेश बस्नेत प्रधानमन्त्रीको दूत बनेर मकहाँ आयो । उसले ‘देशैभर बर्बाद हुने भयो, तपाईको कुरा मैले मानेकै थिएँ, सूर्य थापाहरुले मानेनन्’ भन्यो । उसैले प्रधानमन्त्रीले सल्लाह गर्न वालुवाटार बोलाउनुभएको छ, जाऔं भन्यो । मैले इन्कार गरें । किनभने, देशैभर साथीहरु विभाजित भएर आ–आफ्नो लाइनमा लागिसके । दुईटै चौतारी मिल्दा अरुलाई हराउन सकिन्थ्यो । हामी आपसमै लडेर सकिने बाटोमा पुगिसकेका थियौँ । त्यहाँबाट फर्किन नसकिने अवस्थामा प्रधानमन्त्रीसँग भेटेर केही हुनेवाला थिएन । उसले सञ्चार मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मिलाउनु पर्ने कुरा ल्यायो । सैद्धान्तिक रुपमा विग्रिसकेको कुरा व्यक्तिगत रुपमा मिलाउन सकिँदैन भनेर फिर्ता पठाइदिएँ । परिणाम प्रेस चौतारीको पक्षमा आएन । तर, हामीलाई खुशी के कुरामा छ भने, प्रतिगमनको विरुद्ध जुन मोर्चा बनेको थियो, त्यसले जताततै विजय हासिल ग¥यो । त्यो लोकतन्त्रको विजय हो ।
(लेखक प्रेस चौतारीका पूर्वअध्यक्ष तथा दृष्टि साप्ताहिकका सम्पादक हुनुहुुन्छ ।)

तपाईको प्रतिक्रिया

RELATED POSTS