काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउनेलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक समेतलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि नेपाल सरकारले तोकेकोभन्दा अत्याधीक बढी रकम लिई स्वाबको नमुना समेत नलिई एक–दुई घण्टा भित्रमा नै नक्कली पीसीआर रिपोर्ट दिने गरेको सूचनाको आधारमा प्रहरीले ती स्थानमा छापा मारेको थियो । सो क्रममा सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी पीसीआर टेष्ट नेगेटिभ भनि उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्ट फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ऐजेन्टले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क वापत प्रतिव्यक्ति नौ हजार रुपैँया लिई सुरिया हेल्थकेयर प्रालिसँगको मिलेमतोमा विना स्वाब परीक्षण नक्कली रिपोर्ट बनाइदिने गरेको बुझिएको प्रहरीले जनाएको छ । सो कार्यमा संलग्न रहेको आरोपमा सुरिया हेल्थ प्रालिका व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंह सहित आठ जनालाई महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । महाशाखाले सो प्रालिबाट कम्प्यूटर लगायतका उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको र राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS