काठमाडौं । वैशाख मसान्तसम्म केवल बन्दीप्रत्यक्षीकरण र कोभिडका रिटमाथि कारबाही हुने भएको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि यस्तो अवस्था आएको हो । बढ्दो कोरोना संक्रमणका कारण सर्वाेच्च अदालतले पुनः सेवा संकुचित गरेको छ । सर्वोच्चले सूचना जारी गर्दै हिजोबुधबारदेखि वैशाख मसान्तसम्म केवल बन्दीप्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका, जीवन र जनस्वास्थ्यसम्बन्धी रिट दर्ता र सुनुवाइ गरिने जनाएको छ ।
सर्वोच्चले मातहतका अदालत तथा न्यायाधीकरणलाई आफूअनुकूल निर्णय लिन भनिएको छ । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने र सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने,’ सर्वोच्चको पूर्ण बैठकपछि उपरजिस्ट्रार देवेन्द्र ढकालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
यस अवधिभित्र पर्ने वा अघिका मुद्दाका रिट तथा निवेदनहरूमा हदम्याद, म्याद र तारेख गुज्रिने छैन । सरकारले ६ वैशाखमा जारी गरेको सुरक्षा मापदण्डको आदेश मान्दै सेवामा सीमितता ल्याइएको हो । त्यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने,’ सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS