काठमाडौं । विश्वमुख स्वास्थ्य दिवस–२०७७ को पुर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ । रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएसनले आगामी शनिबार र आइतबार अन्तराष्ट्रिय डेन्टल एण्ड ओरल हाईजिनगोष्ठि गर्ने जानकारी दिएको हो ।
एशोसिएशनले माइतीघर मण्डलामा चैत्र ७ गते शनिबार विश्वमुख स्वास्थ्य दिवस उद्घाटन तथा जनचेतनामुलक कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म गर्ने भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वास्थ्य सेवा विभागका डा.प्रकाश बुढाथोकी रहने जानकारी दिईएको छ ।
त्यस्तै, एशोसिएशनले चैत्र ८ गते आइतबार होटल ऐल्लो पगोडामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मअन्तर्राष्ट्रिय डेण्टल एण्ड ओरल हाइजिन गोष्ठी गर्ने भएको छ । उक्त गोष्ठी कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत रहने जनाईएको छ ।
कार्यक्रममा बोल्दै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटाले हालसम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दन्त स्वास्थ्य क्षेत्रमा कुनै पनि कार्यक्रमहरु नगरेको आरोप लगाए । उनले सबैभन्दा महंगो दन्त उपचारलाई कम्तीमा पनि सबै स्थानीय तहमा लैजान सकेमा मुखबाट हुने शरीरमा अन्य जटिल रोगहरुलाई रोक्न सक्ने बताए । उनले सरकार, प्रदेश सरकार र स्थानिय सरकार यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘धेरै मानिसहरुले दाँत माँझेपनि सही तरिका थाहा छैन्’ उनले भने, ‘पहिला ब्रस नगर्दा समस्या थियो भने पछिल्लो समयमा ब्रस गर्न नजानेर समस्या आएको छ ।’ बढी घोटीएर दाँत घोट्ने गर्दा दाँत खिइने, सिरिङ–सिरिङ हुने जस्ता समस्या देखापरेको उनले बताए । एसोसिएनले सही तरिकाले राष्ट्रिय दाँत माझ्ने अभियान सुरु गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै ओरल हेल्थमा भर्खरै पि.एच.डी सकाएका डा.अमितकुमार शाखले ओरल हेल्थ अझैपनि नेपाली परिप्रेक्ष्यमा नौलो भएको बताए । नेपालमा दन्त स्वास्थ्यलाई अझै पनि तल्लो स्थानमा राखेको आरोप लगाए । उनले मानिसहरुले दाँतलाई महत्व नै नदिएको जिकिर गरे ।
नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनका उप–महासचिव प्रकाश गौतमले दाँत माझ्ने तरिकाबारे जानकारी दिएका थिए । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका महासचिव तथा प्रवक्ता निमा गेल्बु शेर्माले कार्यक्रम संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS