तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह र दल दावीको विषयलाई लिएर सर्वोच्च अदालतले नेकपामा आबद्ध दुवै दललाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि पनि दल विभाजनको समस्या टरेको छैन । पूर्ववत् अवस्थामा फर्किएर पनि सत्तारूढ हुन पुगेको एमालेमा अहिले फेरि अर्को नयाँ विभाजनको सीमारेखा कोरिन पुगेको छ । तर आम कार्यकर्ताको भावना के छ भने देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर सकेसम्म एकता खोज्नुपर्छ, विग्रहमा जानुहँुदैन ।
दुई समूहमा देखिएको झगडाले अहिले एमालेमा समानान्तर कमिटी गठन भएका छन् । यसले एमालेलाई विभाजनको सँघारमा पु¥याएको छ । पार्टी अध्यक्ष ओलीले आफूहरूलाई समाहित नगरिकनै एकलौटी निर्णय लिएर यी सबै काम गरेकाले आफूहरू समानान्तर कमिटी निर्माणमा लागेको नेपाल पक्षको दावी रहेको छ । तर नेपाल पक्ष अन्यत्रैबाट सञ्चालित भइरहेको आशंका अध्यक्ष ओली पक्षको छ ।
पछिल्लो समय दुवै समूहका सबैजसो कार्यकर्ता ओली र माधव दुवै पक्षले लिएका निर्णय फिर्ता लिएर एमाले एकताका लागि पहल अघि बढाइनुपर्ने जिकिर गरिरहेका छन् । पार्टी फुट कुनै पनि हालतमा आफूहरूलाई मान्य हुन नसक्ने भन्दै ओलीले लिएको महाधिवेशनको निर्णय तथा नेपालले लिएको राष्ट्रिय भेलाको निर्णय दुवै फिर्ता लिएर पार्टीलाई फुटबाट जोगाउनुपर्ने र नयाँ शिराबाट सहमति खोजिनुपर्ने कुरामा जोड दिएका छन् । तर पनि दुवैतर्फका नेता तथा कमिटीले आ–आफ्ना कामलाई अघि बढाइरहेका छन् । यसले हुँदै गरेको अवश्यंभावी फुटलाई बढी नै मलजल गर्ने देखिन्छ । यी काम कारवाही रोक्नुपर्ने कार्यकर्ताको आग्रह भए पनि त्यसलाई सुनिएको छैन । बरु एकअर्काको अस्तित्व नस्विकार्ने मात्र होइन, एकअर्कालाई सिध्याउने र आफूले केही गरेर देखाइदिने पूर्वाग्रह बढ्दै गएको देखिन्छ । दुवैले आ–आफ्नो समूहको नयाँ कार्यविभाजनअनुसारको जिम्मेवारी हेरफेर गर्दै अघि बढिरहेका छन् । दुवैको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा आ–आफ्ना इन्चार्ज तोकेर महाधिवेशन तथा राष्ट्रिय भेलाको तयारीलाई अघि बढाइसकेका छन् । नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाले पार्टी फुटलाई औपचारिक मान्यता दिन सक्ने भएकाले सो भेला स्थगित गरेर बुद्धिमानी प्रदर्शन गर्नु नेपाल समूहको कर्तव्य हो ।
देशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि यी दुवै पक्ष एक ठाउँमा आइदिए सजिलो हुने देखिन्छ । यो अवस्थामा देशको राजनीतिक अवस्था पहिलेको भन्दा झनै तरल र अस्थिर बन्दै गइरहेको छ । यो अवस्थाबाट देशलाई पार लगाउन ठूलो दलको हैसियतले यी दुवै पक्षले सोच्नु जरुरी छ । नकि विभाजनको बाटो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS