काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र अध्यक्ष उपेन्द्र यादव दवावमा पर्न थालेका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो अहिले पार्टी आफ्नो पक्षमा पर्ने रणनीतिमा लागेका छन् । त्यसले गर्दा उपेन्द्र यादव र बाबुराम भट्टराई दवावमा पर्न थालेका हुन् ।
पार्टी एकताको बेला राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने अनौपचारिक पक्षमा सहमति भएको थियो । त्यो सहमति अनुसार भईदिने हो भने यतिबेला संसदीय दलको नेता महतो भइसक्नुुपर्ने थियो । एकचरण संसदीय दलको नेता चयन गर्ने प्रयत्न पनि भएको थियो । त्यसमा सहमति जुट्न सकेको छैन । पार्टी एकता हुँदाका पूर्व समूह अनुसार नै अहिले पनि संसदीय दलका दुई वटा पार्टीका दलका कार्यालय छन् ।
जसपाका नेताहरुको अनुसार त्यतिबेलाको अनौपचारिक सहमति अहिले उल्लंघन हुने संकेत देखिएको छ । त्यसैले केही दिनअघि बसेको दलको बैठकमा सहमति जुट्न नसकेको हो । त्यसमा अहिले उपेन्द्र यादवले असहमति देखाएका छन् । महन्थ ठाकुरसँग लागेर संसद पुनस्र्थापनाको मुद्दामा पनि पार्टीलाई दोधारे बनाएको आरोप महतोमाथि लागेको छ । अहिले यादव र बाबुराम भट्टराई आ–आफै दलको नेता बन्न चाहन्छन् ।
पहिला पार्टीको अध्यक्ष भइसकेका महतो संसदीय दलको नेताको लोभमै उपेन्द्र यादवको मातहत बस्न राजी भएका हुन् । तर, अहिले स्वार्थ बाझिएका कारण उनीहरु बिच टकराबमात्र बढेको छैन, दलको नेता चयनमै समस्या परेको छ । त्यो समस्याका कारण दलको विधान पारित गर्न पनि समस्या भइरहेको श्रोत बताउँछ । हुन त महन्थ ठाकुर पनि अहिले दलको नेतामा इच्छा देखाइरहेका छन् । जेष्ठताको आधारमा दुईवटा बैठक ठाकुरको नेतृत्वमा बसेको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS