काठमाडौं । दुई कम्युनिष्ट पार्टीको संयुक्त सरकारमा रुपान्तरण भएको वर्तमान सरकारका प्रधानमन्त्रीलाई हटाएर नयाँ सरकार गठन गर्ने मामिलामा वर्तमान सरकारकै एउटा घटक दल नेकपा माओवादी केन्द्र अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी ओलीलाई सडक संघर्षबाट हटाएर आफू प्रधानमन्त्री हुने चाहना तुसारापात भएपछि सो पार्टी अन्यौलमा परेको हो ।
माधव नेपाल पक्षको समर्थनमा एकलौटी पार्टी चलाउने योजनाकासाथ अघि बढेका प्रचण्डलाई उनकै हस्ती नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा लगायतका नेताहरुले साथ छोडेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मणि हराएको सर्पझैं भएका छन् ।
सायद त्यसै कारण आजका मितिसम्म नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन । फागुन २९ गते शनिबार मात्रै आफ्नो पार्टीको तर्फबाट वर्तमान सरकारमा सामेल भएका ६ जना नेता तथा सांसदलाई सरकारबाट फिर्ता आउन मात्र निर्देशन दिएको छ । नेकपा माओवादीको समर्थन कायम भएको कारणले गर्दा वर्तमान सरकार १७३ सांसदको प्रचण्ड बहुमतमा रहेको छ ।
यो स्थितिमा सरकारलाई दिएको समर्थन फिर्ता नै नलिई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्यलाई तीव्र पारेका छन् । तर प्रधानमन्त्री ओली हट्ने र नयाँ सरकार गठन हुने राजनीतिक स्थिति समेत अहिलेसम्म बन्न सकेको छैन । बरु फेरि संविधानको धारा ७६ ले गरेको व्यवस्था अनुसार कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेको अवस्थामा धारा ७६ कै (उपधारा ७) बमोजिम प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा हुने सम्भावना पनि विकास हुँदैछ । यसो गर्दा नेपाली कांग्रेसले आफ्नो पार्टीलाई लाभ हुने सोच बनाएकाले संयुक्त सरकार बनाउन वा सरकार जानका लागि खासै चासो नदिएको अनुमान गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS