कठमाडौं । सरकारले एशीयाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा महत्वपुर्ण कोरिडोर परियोजना सञ्चालनको तयारी गरेको छ । बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नाम दिइएको उक्त परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाहरुको भनाई छ ।
‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौंमा आयोजित एक दिने कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधीहरुले तीन तहकै सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानि तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ ।
पन्ध्र्रौ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ ।
कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री प्रभु साहले बीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा थप टेवापुगी सम्बृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो ।
बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनावद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उहाँले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
मन्त्री साहले भन्नुभयो, ‘योजना सहीभयो भने मात्र परिणाम पनि सही हुन्छ त्यसैले बस्तुवादी भएर कार्यक्रम कार्यान्वयनमा लैजान म सवैलाई सुझाव दिन्छु’
कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक बिकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताकालागि सवै पक्षको सहयोग र समन्वय महत्वपुर्ण हुने धारणा राख्नुभयो ।
स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनैपनि परियोजना सफल हुननसक्ने भन्दै उहाँले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारले सडक पुर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले कोरिडोरको सिमांकन गर्दा स्थानिय पालिकाहरुबीच समन्वय गर्नुपर्ने बताउनुभयो ।
जीतपुर सिमराकी उपप्रमुख सरस्वतीदेवी चौधरीले भविष्यमा हुने सक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउन सुझाव दिनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सवैको अपनत्व हुनेगरी परियोजना सञ्चालनको खाकालाई मूर्तरुप दिइने बताउनुभयो । महानिर्देशक प्याकुरेलले सरोकारवाला निकायबाट आएका सुझावलाई समेटेर कार्य योजना तयार पारिने जानकारी दिनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक कुमार घिमिरेले परियोजना सफलताको शुभकामना दिदै सवै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने धारणा राख्नुभयो ।
शहरी विकास तथा भवन निर्माण विभाग, क्षेत्रीय आयोजना समन्वय कार्यालयले गरेको उक्त कार्यक्रममा आयोजनाका निर्देशक सुरेन्द्रमोहन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS