काठमाडौं । गत माघ ८ गते बन्दीपूरमा क्यामेरा अन भएको फिल्म ‘गणपति’ मा अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक सँगै काम गरेका छन् । उक्त फिल्मको हालै मात्र सम्पूर्ण छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सविन अधिकारीले बताए ।
फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबास आसपासमा भएको हो । फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आफ्नो आवाज भरेका छन् । फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।
गोविन्द शाहीले देशभर वितरण गर्ने फिल्मको ओभरसिज राइट्सको अधिकार स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार, यो फिल्म नेपालभन्दा अगाडि यूके र अष्ट्रेलियामा रिलिज हुनेछ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS