काठमाडौं । प्रतिनिधिसभा विघटनले संविधान र लोकतन्त्र नै खतरामा परेको निष्कर्षमा रहेका कांग्रेसका दुई प्रभावशाली नेताबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकै विकल्प खोज्नेगरी छलफल भएको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतको सम्भावित फैसला, कांग्रेसको महाधिवेशन र पार्टीले लिनुपर्ने रणनीति लगायतका विषयमा ‘गम्भीर छलफल’ भएको छ । प्रतिनिधिसभा विघटनपछि पार्टीभित्र देखिएको सैद्धान्तिक मतान्तर, संसद पुनःस्थापना भएमा हुनसक्ने सम्भावित राजनीतकि समीकरण लगायतका विषयमा पनि दुई नेताबीच छलफल भएको छ । दुवै नेताबीच अदालतले संसद पुनःस्थापना गरेको अवस्थामा के गर्ने ? भन्नेबारे पनि छलफल भएको थियो । संसद पुनःस्थापना हुनासाथ प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने तर विकल्प देउवा हुन नसक्नेमा दुवै नेता सहमत छन् । ‘संसद पुनःस्थापना भए कांग्रेसले ओलीको विकल्प दिनुपर्छ । प्रचण्ड–माधव पक्षले अब देउवालाई प्रधानमन्त्री स्वीकार्ने अवस्था छैन । त्यस्तो बेला पार्टीभित्रैबाट देउवाको विकल्प दिनुपर्ने हुनुसक्छ’, भेटमा भएको संवादबारे स्रोतले भन्यो । संसद विघटनविरुद्ध आन्दोलन चर्काउन आनाकानी गरेका कारण सभापति देउवा प्रधानमन्त्री ओलीको विकल्प बन्न नहुने दुवै नेताको धारणा छ । ‘संसद पुनःस्थापना देउवाजीको एजेण्डा होइन । पुनःस्थापना भए सबै दलको सहमतिमा कांग्रेसले विकल्प दिनुपर्ने हुनसक्छ’, नेताद्वयको छलफलको आशय थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS