काठमाडौं । पर्यटनसँग सम्बन्धित सबै संघ–संस्था सरकारप्रति आक्रोशित भएका छन् । पीसीआर नेगेटिभ भएका र कोरोनाविरुद्धको खोप लगाएर नेपाल आउन चाहने बाह्य पर्यटकलाई अनअराइभल भिसा दिनुपर्ने माग पनि सरकारले सम्बोधन नगरेपछि व्यवसायी सरकारप्रति आक्रोशित भएका हुन् ।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ, पाटा नेपाल, रेष्टुरा एण्ड बार एसोसिएसन अफ नेपाललगायत करिब ४५ संघ संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्वास्थ्य प्रोटोकल अपनाएर पर्यटनका सबै गतिविधि गर्न दिन माग गरेका छन् ।
पीसीआर रिपोर्ट ल्याएर आउने बाह्य पर्यटकलाई ५ दिनको क्वारेन्टिन हटाउनुपर्ने, कोरोनाविरुद्धको खोप लगाएर नेपाल आउन चाहनेलाई सहज रुपमा आउने दिनुपर्ने बताए । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबै पर्यटन गतिविधि खुला गर्न दिनुपर्ने माग व्यवसायीहरुको संयुक्त माग रहेको बताएका छन् ।
स्प्रिङ्ग सिजन सुरु हुन गइरहेको अवस्थामा पनि प्रोटोकललाई खुकुलो नबनाए पर्यटन क्षेत्रले पुनर्जीवन नपाउने अवस्थाप्रति व्यवसायीहरुले नेपालको समग्र पर्यटन क्षेत्रलाई पूनर्जीवन दिन ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्न पर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिसााको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने माग व्यवसायीको छ ।
यस्तै हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्न, कोरोनाविरुद्धको भ्याक्सिन पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउन, नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्न, नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
यसैगरी नेपाल–भारतका सीमानाबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने, कम्तिमा ५ हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनु पर्ने र कोरोनाविरुद्धको भ्याक्सिन पूरा मात्रा लगाइ आएका पर्यटकलाई निर्बाध रुपमा घुम्न दिनुपर्ने माग व्यवसायीहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS