काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालेर परीक्षण गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । आयोजनास्थल मेलम्चीमै खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिएको थियो ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । ‘विशेषज्ञहरुले निरीक्षण एवं सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि वातावरण तय भएको थियो ।
परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको थियो भने उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौं स्थित विभिन्न अस्पतालहरुसँग समन्वय समेत गरिएको थियो । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्ने बुझिएको छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी हालिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS