०तपाईंले उदयपुर सिमेन्टमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेको महिना दिन ब्यतित भयो । यस अवधिमा उदयपुर सिमेन्टलाई कसरी नियाल्नुभयो ?
कारखानाको सबैभन्दा महत्वपूर्ण पाटो भनेको कच्चा पदार्थ हो । कच्चा पदार्थ भनेको लाइमस्टोन हो । यसको पनि विभिन्न गुणस्तर हुन्छ । जसमध्ये सबैभन्दा गुणस्तरीय लाइमस्टोन हामीसँग छ । जुन अहिलेको उत्पादन क्षमतालाई हेर्ने हो भने अझै साढे तीन सय वर्ष पुग्छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने ९५ प्रतिशत भनेको कच्चा पदार्थ लाइमस्टोन हो र त्यो हामीसँग उपलब्ध छ । ५ प्रतिशत कोइला, जिप्सन, फलामको धुलो हामीले व्यवस्थापन गर्नुपर्छ ।
दोस्रो, राम्रो पक्ष भनेको हामीसँग रहेको दक्ष जनशक्ति हो । यहाँ वर्षौँदेखि अनुभव संगाल्नुभएका साथीहरु काम गरिरहनुभएको छ ।
तेस्रो, पक्ष भनेको विभिन्न संयन्त्र जडान गरेर हामीले धुलो, धुँवालाई नियन्त्रण गरेका छौँ । जसले गर्दा उद्योग क्षेत्रमा बस्ने बासिन्दाहरुलाई सहज भएको छ ।
चौँथो, पक्ष भनेको उद्योगका कारण राम्रो रोजगारी सिर्जना भएको छ, राम्रो राजस्व संकलन भएको छ । विद्युतकै कुरा गर्ने हो भने सबैभन्दा बढी विद्युत महसुल तिर्नेमा हामी नै पर्छौँ । उत्पादन घटेको समयमा पनि वर्षमा ३० करोड महसुल तिरिरहेका छौँ ।
पाँचौँ, पक्ष भनेको एक नम्बर प्रदेश र उदयपुरका बासिन्दाहरुले सिमेन्ट उद्योगलाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक छ । यो उद्योग राष्ट्रिय गौरवको उद्योग हो, निजी क्षेत्रबाट चालित उद्योगहरुलाई मूल्यका हिसावले नियन्त्रण गर्न पनि यो उद्योग चल्नु आवश्यक छ भन्ने उहाँहरुको बुझाइ छ । साथै, उहाँहरुले गैंडाछाप सिमेन्ट पाएसम्म अरु सिमेन्ट प्रयोग गर्नु हुँदैन । मैले यी पाँच पक्ष निकै सकारात्मक पाएको छु ।
० लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको कम्पनीलाई माथि उकास्न तपाईंको पहिलो प्राथमिकता के कुरामा हुनेछ ?
उद्योगको इतिहास धेरै पुरानो भएकाले यहाँ मेसिनहरु पनि निकै पुराना छन् । अहिले धेरै मेसिनहरु जोडजाड तथा मर्मत गरेर चलाइरहेको अवस्था छ । दैनिक साढे ६ मेगावाट विद्युत खपत हुने भएकाले बत्तिको समस्या पनि छ । त्यसैले दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता भए तापनि त्यति उत्पादन हुन सकिरहेको छैन । हाल ५० प्रतिशत उत्पादन भइरहेको छ । त्यसैले मैले कसरी, कुन समस्या समाधान गरेर हुन्छ क्षमताअनुसारको सिमेन्ट उत्पादन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छु ।
त्यस्तै, एक वर्षभित्र १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने कामको पनि थालनी हुनेछ । देशको खानीलाई उपयोग गर्ने काम पनि हुनेछ । मैले सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिङ्करको आयात नै रोक्ने अर्को लक्ष्य लिएको छु । करिब १४ अर्ब क्लिङ्करकै लागि विदेशिएको अवस्था छ । त्यसैले यसमा पनि नियन्त्रण गर्नु जरुरी छ । यसरी भविष्यमा ६ हजारदेखि १० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने मेरो लक्ष्य हो ।
० बजारमा थुप्रै सिमेन्ट कारखानाहरु छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न त्यति सहज त छैन होला नि ?
हाम्रो ब्रान्डिङ राम्रो छ । हामीले नियमितरुपमा उत्पादन गर्न सक्यौँ भने हामीलाई कसैसँग प्रतिस्पर्धा नै गर्नु पर्दैन । ढलान गर्दा अन्य सिमेन्ट ८ बोरा लाग्ने ठाउँमा हाम्रो सिमेन्ट ६ बोरा लाग्नुले यसको गुणस्तरबारे धेरैले थाहा पाइसक्नुभएको छ । हामीले सरकारको तर्फबाट मूल्य कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान पु¥याएर अन्य उद्योगले पनि कम मूल्यमा सिमेन्ट बेच्ने कार्यमा चाहिँ प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । त्यस्तै, देशको विकास पूर्वाधार निर्माणमा सिमेन्टको प्रयोग हुने भएकाले हाम्रो गुणस्तर राम्रो भएको खण्डमा अन्य उद्योगले पनि राम्रो गुणस्तरका लागि प्रतिस्पर्धा गर्छन् भन्ने हाम्रो विश्वास छ ।
० सिमेन्ट गुणस्तरिय हुँदाहुँदै पनि ग्राहककले गैंडाछाप सिमेन्ट नपाउने अवस्था छ । सर्वसुलभ कहिले होला ?
राम्रो भएर नै गैंडाछाप सिमेन्टको माग बढी छ । मैले माथि पनि भनेँ ४ सय टनबाट बढाएर ८ सय टन उत्पादन गर्ने मेरो पहिलो लक्ष्य हो । ८ सय टनले नेपालभर त पुग्दैन । त्यसैले हामीले १ नम्बर प्रदेशलाई पहिलो प्राथमिकता दिन्छौँ, २ नम्बरलाई दोस्रो र राजधानी पनि भएकाले वागमति प्रदेशलाई तेस्रो प्राथमिकतामा राखेका छौँ । अन्य प्रदेशमा पुर्याउन भाडा महंगो पर्ने भएकाले हेटौडा सिमेन्ट उद्योगसँग मिलेर काम गर्छौँ ।
० उदयपुर सिमेन्ट उद्योग बेलाबेला कर्मचारीको आन्दोलनले थलिने गर्छ । कर्मचारीको व्यवस्थापन र बिना रोकावट निरन्तर कामका लागि कस्तो योजना बनाउनुभएको छ ?
म आफू पनि कर्मचारी नै हो । सबैको आ–आफ्नो काम गर्ने शैली हुन्छ । कर्मचारीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको तलब–सुविधा र सहजरुपमा काम गर्ने वातावरण नै हो । यहाँ धेरै पुराना र अनुभवी कर्मचारीहरु हुनुहुन्छ । यी विषयमा म उहाँहरुसँग सल्लाह गर्दै अघि बढ्ने प्रयत्न गर्नेछु । ट्रेड युनियनमा लागेका साथीहरुले पनि सहयोग गर्छु भन्नुभएको छ । सबै कर्मचारीको चाहना भनेको उद्योग राम्रो होस् भन्ने हो । त्यसका लागि व्यवस्थापन पक्ष र कर्मचारीबीच सहकार्य आवश्यक पर्छ र यस कुरालाई दुवै पक्षले हातेमालो गर्दै अगाडि बढाउनुपर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS