कृषि विकास बैंकले २४ अर्बको कृषि बोण्ड निष्काशन गर्ने परिकल्पना सहित अहिले पहिलो चरणमा ६ अर्बको बोण्ड जारी गर्दैछ, यसले बैंकको व्यवसाय, सेयरधनीको प्रतिफल, ऋणको ब्याजदर र किसानलाई ऋणमा सहजतामा कस्तो प्रभाव पर्ने देख्नु हुन्छ ?
कृषिलाई व्यवसायीकरण गरेर स्वरोजगार सृजना गर्ने, आयात प्रतिस्थापन गर्ने, ग्रामिण अर्थतन्त्रलाई कृषिको माध्यमबाट बलियो बनाउने र व्यवसायीक रुपमा कृषिलाई अगाडी बढाउने उदेश्यले सरकारले बजेट तथा कार्यक्रम मार्फत सम्बोधन गरेको र मौद्रिक नीति मार्फत कृषि विकास बैंकलाई यसको नेतृत्व लिनलाई भनिएको अवस्थामा कृषि विकास बैंकले कृषि बोण्ड जारी गर्न लागेको हो । सरकारले कृषि बोण्डको लागि कृषि विकास बैंकलाई रोज्नु भनेको कृषि विकास बैंक माथिको बिश्वास हो । यो भनेको कृषि विकास बैंकले लामो समयदेखि कृषि क्षेत्रमा काम गर्दै आएको र यहाँको प्राविधिक तथा जनशक्तिको क्षमताको पहिचान र ५४ बर्षसम्म आइपुग्दा कृषिलाई जोडेको र अरुलाई नछोडेको हुनाले बैंक माथिको सम्मान पनि हो । अरु यस बैंकको बोण्ड खरिद गर्दा कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको गणना हुने भएकाले अन्य बैंकहरुलाई कृषिमा तोकिएको लगानीको लक्ष्य पु¥याउनलाई सजिलो पनि हुने भयो । कृषि विकास बैंकको लागि लगानीको लागि कृषि बोण्ड एउटा भरपर्दो स्रोत हो । कृषि बोण्डले हिजोका दिनमा कृषि विकास बैंकले कृषि क्षेत्रमा गर्दै आएको लगानीको क्षेत्र बिस्तार गर्न, योजनाबद्ध रुपमा काम गर्न, तुलनात्मक रुपमा सस्तो ब्याजदरमा काम गर्न सहज हुने भयो ।

कृषि विकास बैंकले कृषिलाई दिन्छ भनेपछि अनुदानको कार्यक्रम पनि जोडिंदा बैंकप्रति कृषि उद्यमी र किसानहरुको बिश्वास पनि बढ्ने भयो । यस संगसँगै हामीले किसान एप्स र किसान क्रेडिट कार्ड ल्याएका छौं । यसले किसानहरुलाई नगद रहित कारोबार र वित्तीय भुक्तानीमा पहुँच त पु¥याउँछ नै, साथसाथै मौसम, बजार, लगायतका धेरै जानकारी पनि उपलब्ध हुने भएकाले यो बढी उपयोगी हुने देख्छु । ३ लाख हाराहारीमा किसानहरु बैंकका सेयरधनी पनि छन् । बैंकको प्रतिफलबाट बैंकका अन्य सेयरधनी झैँ किसानहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् । बैंकले बिगत ४ बर्ष देखि नै औषतभन्दा माथि कै अंकको प्रतिफल दिंदै आएको छ । गत आर्थिक बर्षको कमाईबाट पनि बैंकले १५ प्रतिशत बोनस दिएको छ । कृषि बोण्ड मार्फत गरिएको लगानीले भोलिका दिनमा सेयरधनीले पाउँदै आएको प्रतिफलमा पनि थप वृद्धि हुने विश्वास लिएका छौं । बैंकको संरचना, व्यवसायिक क्षेत्र, शाखा संख्या, पुंजिकोश, निक्षेप तथा कर्जा लगानी, जनशक्तिका हिसाबले बिगतभन्दा झनै मजबुत हुँदै अगाडी बढेको अवस्था छ । यसको विस्तार तथा स्तरोन्नतिमा बोण्डले थप टेवा पु¥याउछ ।
बैंकको प्रतिफलबाट बैंकका अन्य सेयरधनी झैँ किसानहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् । यो कार्यक्रमलाई केन्द्रबाट मात्र नभई प्रदेशको कार्यक्रमसँग जोडिएर पनि अगाडी बढाई रहेका छौं । यति मात्र नभई कृषिमा काम गरिरहेका बिभिन्न संघ संस्थाहरुसँग मिलेर देशैभरका किसानसँग पुग्ने प्रयासलाई निरन्तरता दिएका छौं ।
कुन–कुन क्षेत्रमा काम गरिरहेका किसानहरुले यो सुविधा पाउँछन त ?
कृषिको सबै मुल्य श्रृखलामा अर्थात उत्पादन, प्रशोधन, भण्डारण, वितरणदेखि बजारीकरणसम्मका सबै तहमा काम गर्ने किसानहरुमा लगानी गर्छौ । लगानीको लागि सानो ठुलो रकम वा यो त्यो भन्ने हुदैन, मापदण्ड पुगेका सबै योजनाहरुमा लगानी खुला गरेका छौं । हाम्रा देशभरका विभिन्न ठाउँमा रहेका तालिम केन्द्रको उपयोग गरेर किसानहरुलाई प्रविधिमैत्री तालिम दिंदै अगाडी बढेका छौं । हामी आफ्नो तालिम केन्द्र मार्फत नभई अन्य सरोकारवालाहरुसँग समेत मिलेर तालिम दिंदै आएका छौं । मुलुकको सबै कृषि क्षेत्रमा कृषि विकास बैंकले मात्र काम गर्ने भनेको होइन, बैंकले एउटा अग्रणी भूमिका मात्र निर्वाह गर्ने हो, सबैले हातेमालो गरेर काम गर्ने हो ।
कृषिमा लगानी आक्रामक हुँदै गर्दा लगानीको जोखिम कत्तिको देख्नु भएको छ तपाईले ?
बोण्ड मार्फत आउने लगानी पनि जनताकै पैसा हो । जनताको पैसा लगानी गर्दा वित्तीय अनुशासनलाई हामीले पालना गर्नुपर्छ । त्यहि भएर कहिलेकाही कृषि विकास बैंकले छिटो ऋण दिएन भन्ने आरोप पनि लाग्ने गरेको छ । हामीले कृषिको लागि आएका लगानीको मागको अध्ययन तथा विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्ने हो । कृषिमा भनेर अन्यत्र लगानी जाँदाको जोखिम बैंकले मुल्यांकन गरिरहेकै हुन्छ । आजको दिनमा वित्तीय अनुसाशनको विकल्प नै छैन ।
सरकारी लगानीको कृषि विकास बैंक, त्यसमाथि सरकारी कार्यक्रम, यसमा राजनीतिक हस्तक्षेप कति भोग्नु हुन्छ ?
कृषि विकास बैंक आफैंमा एउटा कमर्शियल बैंक हो । हामीले व्यवसायिक बैंकिङ गर्दै आएका छौं र व्यवसायिकताको बाटोतर्फ अगाडी बढिसकेको छ । यहाँ पनि जनताको पैसा नै लगानी गर्ने हो । जनताको पैसा लगानी गर्ने ठाउँमा बसेको बैंकले जोखिम विश्लेषण गरेर नै लगानी गर्छ । कसैले भनेकै भरमा हचुवाको आधारमा लगानी हुन्छ भन्ने कुराको कल्पना पनि गर्न सकिदैन । जहाँसम्म रह्यो राजनीतिक हस्तक्षेपका कुरा, कृषि विकास बैंकले सबै कुरा उचित ढंगले व्यवस्थापन गर्दै अगाडी बढेकाले राजनीतिक हस्तक्षेप भयो, अप्ठ्यारो भयो भन्ने ठाउँ यहाँ छैन । सहज रुपमा पाउनेले पाउँछ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन तर कसैले कुनै कुराको प्रस्ताव गर्छ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन । प्रत्येक त्रैमासमा हाम्रो बेस रेट घट्ने क्रममा रहेको छ, त्यसैले आगामी दिनमा ऋणको ब्याजदर झनै सस्तो हुन्छ भन्नेमा विश्वास लिएको छु ।
कृषि विकास बैंकको लागत र ऋणको ब्याजदर घट्दो क्रममा नै छ, बेसरेट घटाउन र ब्याज थप सस्तो बनाउन बोण्डको भूमिका कस्तो रहन सक्छ ?
व्यक्तिगत ओभरड्राफ्ट बाहेकका ऋणहरुको ब्याजदर एकल अंकमा नै रहेको छ । जति पनि व्यवसायिक ऋण छन्, ति सबैको ब्याजदर अहिले एकल अंकको छ र बजारमैत्री नै छ । बजारको औषत ब्याजदर भन्दा हामी धेरै टाढा छैनौ, एक दुई बैंकसँग तुलना गर्दा हाम्रो ब्याजदर बढी देखिएपनि अरु बैंकसँग तुलना गर्दा हाम्रो ऋणको ब्याजदर कम नै छ । एउटा कालखण्डमा हाम्रो बेसरेट केहि धेरै भएकाले ऋणमा ब्याज दर महँगो देखिन्थ्यो तर आजको दिनमा हामी एकल अंकको बेस रेटमा छौं । यसको अर्थ हामी एकल अंकमा ऋण दिन सक्ने भएका छौं । प्रत्येक त्रैमासमा हाम्रो बेस रेट घट्ने क्रममा रहेको छ , त्यसैले आगामी दिनमा ऋणको ब्याजदर झनै सस्तो हुन्छ भन्नेमा विश्वास लिएको छु ।
कृषिलाई बढावा दिंदै जाँदा अन्य क्षेत्रको लगानीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
कृषि विकास बैंक भनेको कमर्शियल बैंक हो । लगानीको लागि दुईवटा अलग–अलग पाटोहरु, एग्रिकल्चर पाटो र नन एग्रीकल्चर पाटो बनाएर अगाडी बढेका छौं । एउटा पिरामिड बनाएर अगाडी बढ्दा जोखिम पनि उत्तिकै हुन्छ, हामीले दुईवटा पिरामिड बनाएर अगाडी बढ्दा जोखिम कम हुन्छ । हामीले कृषिको लगानीलाई प्राथमिकता राख्दै गर्दा हामीले जमानतबाट पनि बार्षिक ४६÷४७ अर्बको पोर्टफोलियो छ, यसबाट पनि आम्दानी गरेका छौं । जमानतबाट आम्दानी गर्ने बैंकमा हामी उत्कृष्ट छौं तर हामीले यसको प्रचार गरेका छैनौ । हाम्रो नारा भनेको कृषिलाई जोड्ने, अरुलाई नछोड्ने भन्ने हो । यहि अनुसार नै अगाडी बढ्छौं ।
५४ बर्षको इतिहास बोकेको बैंक केहि वित्तीय सूचक र व्यवसायिक विस्तारमा अरु सरह नै देखिन्छ, कृषि विकास बैंकले आफुलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन नसकेको हो कि नचाहेको हो ?
तथ्यांकले तपाईले भनेको जस्तो देखाउछ जस्तो लाग्दैन । हाम्रो सम्पति तथा दायित्व, रिजर्भ, हाम्रो पुँजिकोश, हामीले दिने प्रतिफल, व्यवसायिक वृद्धिको तथ्यांक हेर्दा हामी कम्जोर छौं भन्ने देखाउदैन । सञ्चालनमा रहेका २७ मध्ये एक दुई बैंक जस्तो नहोला तर औषतमा हामी राम्रै अवस्थामा छौं । हाम्रा वित्तीय सूचक बलिया नभएका भए, प्रविधिमा अगाडी नभएका भए, डिजिटल बैंकिङमा चाहिने र अन्य बैंकले दिंदै आएका सेवा हामीले नदिएका भए बजारमा हाम्रो अलग पहिचान हुने थिएन । २७८ वटा कार्यलयमा अनलाइन बैंकिङ, ८ प्रतिशत २० लाख मुनिका आम जनता छन्, सेयरधनी ३ लाख छन्, यसमा हामी अव्वल छौं ।
कोभिडकै पिरियडमा मोबाइल बैंकिङ मार्फत खर्बको कारोबार भएको छ । २ लाख भन्दा बढी मोबाइल बैंकिङका प्रयोगकर्ता छन् । भिसा कार्ड १ लाख माथि छन् । १६ लाखभन्दा माथि किसानहरुमा लगानी भएको छ । हुन् सक्छ, अन्य बैंकको झैं देखिनेगरि ठुला–ठुला परियोजनामा लगानी नभएका होलान् तर त्यो पनि हामीले सुरुवात गरिसकेका छौं । को पहिलो, को दोस्रो, त्यो दौडमा मात्र थाहा हुने कुरा हो, तर व्यवसायिक विस्तारमा, श्रमशक्तीको कुरामा, संस्थागत विकासको कुरामा, प्रतिफल दिने कुरामा, हामी बजारका बैंकभन्दा अव्वल नै छौं भन्ने मेरो दानी हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको बैंकको इजाजत लिएर पूर्ण बैंकिङको रुपमा सञ्चालनमा आएको १४ बर्ष भएको छ । यो अवधिमा हामी आफुले राम्रै गरेका छौं भन्ने लाग्छ र बाँकी कुरा तथ्य र सूचक हेरेर बजारले विश्लेषण गर्नुपर्छ ।
कृषि विकास बैंक, बैकको पछाडी विकास जोडिएको छ, अब नाम फेर्ने बेला भएन ?
विकास भनेको संसार भरिको आवश्यकता हो । यो मात्र नभई कृषि विकास बैंक भनेको आफैंमा एउटा ब्राण्ड हो । जनताले यसलाई चिनिसकेका छन् र यो ब्राण्डले जनताको बिश्वास जितिसकेको छ । हाम्रो सर्भेमा पनि कृषि विकास बैंकबाट विकास शब्द हटाउने वा अन्य नाम राख्ने कुरा उचित हुदैन भन्ने पाएका छौं । अन्ततः कामले सेवाले र कर्मले ब्राण्ड बन्ने हो, अहिलेको नामले काम गर्नलाई, सेवा दिनलाई, र कर्म गर्नलाई कुनै बाधा पुगेको छैन ।
तपाइँ बैंकहरुको अर्थात एनबिएको उपाध्यक्ष पनि हुनुहुन्छ, कोरोनाबाट प्रभावित हरुलाई वा कोरोनाका कारणले दिनुपर्ने सहुलियत छुट जस्ता कुराहरु पुष मसान्तसम्म हुन्छ र त्यसपछि प्रोभिजन गरेर अगाडी बढ्नुपर्छ भन्ने छ, अबको बैंकिङ कुन दिशातर्फ कसरि अगाडी बढ्छ ?
कोभिड १९ ले टाइम फ्रेम पायौं । अहिले कमाउनेभन्दा पनि बाँच्ने भन्ने कुरा महत्वपूर्ण हो । हिजोको दिनमा राष्ट्र बैंकले प्रोभिजनमा लचकता दिने, सहुलियत कर्जा दिने, जरिवाना नलगाउने, कर्जा पुनर्तालिकीकरण गर्ने, जस्ता कुराहरुबाट आम सर्वसाधारणलाई राहत दिएको थियो तर अब यो च्याप्टर बन्द भएको छ । दोस्रो हाफमा आफ्नो वित्तीय विवरण विश्लेषण गरेर, राष्ट्र बैंकको नीतिसँग बेमेल भएका कुराहरु सच्याउने र त्यसमा छलफल गर्ने, एउटा तरिकाबाट बिस्तारै प्रोभिजन गर्दै जानुपर्ने अहिलेको अवस्था हो । अहिलेको परिस्थिति कुनै एउटा पक्षको भन्दा पनि सबैले एक अर्कालाई सघाएर, एक अर्कासँग तालमेल गरेर अगाडी बढ्नुपर्ने बेला हो । बैंकहरुसंग भएको पैसा पनि जनताको पैसा हो । बैंकहरुले जनताकै पैसा लगानी गर्ने हो । समस्यालाई संधै पर सार्नेभन्दा पनि अब समस्यालाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्छ र यसमा सबै पक्ष मिलेर व्यवसायिक रुपमा अगाडी बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS