कोभिड–१९ एउटा रोगको रुपमा मात्र देखापरेको होइन, यसले महामारीको रुप लियो । यसले मानिसमा ठूलो त्रास सिर्जना गरेको छ । सरकारले पनि मानिसलाई घरबाट ननिस्कन अपिल गर्यो । सर्वसाधारण पनि अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर निष्केनन् । लकडाउन लगत्तै हेर्ने हो भने ठूलो त्रास थियो नेपालमा पनि । तर अहिले यस्तो त्रास कम हुँदै गएको छ । मानिसहरु आफ्नो नियमित कार्यमा सक्रिय भएका छन् । पसल, कार्यालय, यातायात सबै खुलेको छ । सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन निष्कन थालेका छन् । बजारमा मानिसहरुको उपस्थिति बाक्लो छ । राजनीतिक दलहरु पनि कार्यकर्ता सडकमा उतारेर ठूला–ठूला सभा सम्मेलन गर्न थालेका छन् ।
कोभिड विरुद्धको खोप बनेपछि पनि मानिसहरुमा मनोबल बढेको छ । यूरोपियन देशहरुमा, बेलायतमा, अमेरिकामा कोडिभ–१९ विरुद्धको खोप लगाउन शुरु भईसकेको छ । विस्तारै यी खोप विश्वका धेरै देशमा उत्पादन शुरु हुनेछ । त्यसपछि बजारमा पनि सहजै पाउन सकिनेछ । नेपाल जस्तो देशले अझै ४÷५ महिना कुर्नुपर्ला । तर खोप आउँने निश्चित छ । खोप आएपछि जनजीवन पुरानै शैलीमा अगाडि बढ्नेछ ।
अहिले पनि धेरै क्षेत्र चलायमान भैसकेका छन् । आन्तरिक उडान समेत निममित रुपमा सञ्चालन भैसकेका छन् । अन्तराष्ट्रिय उडान पनि विस्तारै खुल्ने नै छ । नेपाली ग्राहक लक्षित होटल तथा रिसोर्टहरु खुलिसके । विदेशी पर्यटक लक्षित होटलहरु सञ्चालन हुन केही समय लाग्नसक्छ । स्कूल कलेज समेत विस्तारै खुल्न थालिसकेका छन् । उद्योग, व्यापार तथा सेवाका सबै क्षेत्र विस्तारै सामान्यीकरण हुँदै गएको छ । कोभिडको असर कुन क्षेत्रलाई कति परेको छ भनेर नेपाल राष्ट्र बैंकले अध्ययन गरेको छ । उच्च प्रभाव, मध्यम प्रभाव र न्यून प्रभाव परेका क्षेत्रको पहिचाहन पनि गरिएको छ । उनीहरुलाई बैकिङ क्षेत्रबाट कसरी राहात दिन सकिन्छ भनेर राष्ट्र बैंकले प्रष्ट रुपमा निर्देशन पनि दिएको छ । त्यसको आधारमा थप कर्जा दिने, कर्जा पुर्नतालिकीकरण गर्ने, पुर्नसंरचना गर्ने काम भईरहेका छन् । बैंकहरुले पनि आफ्नौ तरिकाबाट सहजीकरणको काम गरिरहेका छन् । राष्ट्र बैंकले शुरुमै २ प्रतिशत व्याज छुट दिनु भन्यो । बैंकहरुले कुनै आनाकानी नगरी छुट दिए ।
सेञ्चुरी बैंकले मात्र झण्डै ३० करोड रुपैयाँ छुट दियो । कोभिड आउनुभन्दा पहिले नै खराव भएका कर्जाबाहेकका कर्जा असुलीमा बैंकहरुले ऋणिलाई धेरै दवाव दिएका पनि छैनन् । बैंकहरुको नाफा घटेको छ । लाभांश दर घटेको छ । तर बैंकहरुको वित्तीय अवस्था पनि खराव भएको छैन । असार मसान्तको रिपोर्ट हाम्रो अगाडि छन् । असोज मसान्तको रिपोर्ट पनि हामीले हेरिसक्यौं । मलाई लाग्छ पुस मसान्तको रिपोर्ट पनि असोज मसान्तको जस्तै आउने छ । पुस मसान्तपछि भने सुधार हुनेछ । त्यसपछि वित्तीय बजार सामान्यतर्फ उन्मुख हुनेछ । बैंकहरुको वित्तीय अवस्था पनि खराव भएको छैन । असार मसान्तको रिपोर्ट हाम्रो अगाडि छन् । असोज मसान्तको रिपोर्ट पनि हामीले हेरिसक्यौं । मलाई लाग्छ पुस मसान्तको रिपोर्ट पनि असोज मसान्तको जस्तै आउने छ । पुस मसान्तपछि भने सुधार हुनेछ । त्यसपछि वित्तीय बजार सामान्यतर्फ उन्मुख हुनेछ ।
पछिल्लो समय कर्जा प्रवाह विस्तार भएको छ । एक वर्षअघि बैंकहरुले कर्जा दिन कठिन भएको थियो । कर्जा माग भएर पनि लगानी हुन सकेको थिएन । यतिबेला उनीहरु पुनः कर्जा माग गर्दै बैंकमा आएका छन् । विगत ९ महिना व्यापार व्यवसाय ठप्प थियो । कर्जाको माग पनि कम भयो । सामान्य विरामी भएका मान्छे अस्पताल समेत गएनन् । औषधिको समेत उत्पादन तथा बिक्री वितरण घट्यो । स्कूल कलेज नखुल्दा ड्रेसका कपडादेखि जुत्ता मोजा समेत बिकेन । स्टेशनरी सामान समेत बिकेन । अब विस्तारै बजार सामान्य हुँदै जानेछ । यतिबेला बजारमा औषधिदेखि स्टेशनरीका सामानको खपत बढेको छ ।
अहिले आर्थिक गतिविधि बढ्दै छ भने नयाँ कर्जाको माग पनि बढेको छ । मलाई लाग्छ, आगामी केही महिना मानिसहरु निकै सक्रिय हुनेछन् । एक पटक बजारमा माग बढ्नेछ । अर्थतन्त्र गतिशित हुँदै पुरानै लयमा फर्कन सक्छ । अर्को महामारी फैलियो भने भविष्यमा के हुन्छ भन्न सकिदैन । होइन भने अबको ४ महिना वा २०७८ बैशाख महिनातिर पुग्दा हामी सामान्य अवस्थामा फर्केका हुनेछौं । तत्काल बजार विस्तार ह्वात्तै हुन सक्छ । त्यसपछि सामान्य गतिमा अगाडि बढ्छ ।
बैकिङ क्षेत्रमा परिवर्तन
कोभिडपछि पनि बैकिङ क्षेत्रमा धेरै परिवर्तन आउँदैन । चार सय वर्षअघि बैंकले जे काम गर्दथ्यो अहिले पनि मुलभुत रुपमा त्यहि काम गर्दछ–निक्षेप लिने, कर्जा लगानी गर्ने, पैसा स्थान्तरण गर्ने । बैंकले गर्ने मुख्य काम यिनै तीन वटा हुन् । समय र प्रविधिको प्रयोगसँग बैंकिङ कारोबार पद्धतिमा फरक भएको छ । कारोबार गर्ने औजार परिवर्तन भएको हो । पहिले बोरामा सिक्का बोकाएर पैसा स्थान्तरण हुन्थ्यो भने अहिले डिजिटल्ली स्थान्तरण हुन्छ । अहिले तरकारी कारोबार गर्दा पनि क्यूआर कोड प्रयोग हुन थालेको छ । कोडिभ–१९ पछि प्रविधिको प्रयोग बढेको छ । बैंकहरुले पनि यसमा जोड दिएका छन् । यद्यपी अहिले पनि बैंकको काउन्टरमा पैसा राख्न वा झिक्नेहरुको भीड नै भैराखेको छ । बैंकले मात्र उन्नतस्तरको प्रविधि प्रयोग गरेर हुँदैन, यसका प्रयोगकर्ताको क्षमता पनि विकास हुनुपर्छ । नेपालको लागि कोभिड पहिलो र ठूलो स्वास्थ्य महामारी हो । तर विश्वले यस्तो धेरै ठूला महामारी भोगिसकेको छ । प्लेगले यूरोपमा ५० औं लाख मानिसको मृत्यु भएको इतिहास हामीले पढेका छौं । मैले त यस्तो महामारीलाई घाटे बैराग्यसँग तुलना गर्छु । आफन्त बितेको बेलामा हामी जब घाटमा पुग्छौं, जताततै शब नै शव देख्छौं । हामीलाई दिक्क लाग्छ । जिन्दगी केही होइन जस्तो लाग्छ । रिस, राग, लोभ, संघर्ष बेकार हो जस्तो लाग्छ । आर्यघाटबाट फर्किर चक्रपथ क्रस गर्ने वित्तिकै त्यो अवस्था विसर्न थाल्छौं । हामीमा नयाँ जोस, जाँगर बढ्दै जान्छ । हाम्रो दैनिकी नियमित बन्न जान्छ । हामीले २०७२ सालको भूकम्प बिर्सदै गयौ । आकाशचुम्बी भवन बन्न थालेका छन् । मान्छेको स्वभाव, जिजिविसाको कुरा आउँछ । बाँच्ने, अगाडि बढ्ने चाहाना सबैको हुन्छ । सबै आ–आफ्नो काममा फर्किसकेका छन् । विदेशी पर्यटकमा आधारित व्यवसाय अर्को सिजन कुर्नुपर्छ । तर अरु पेशा व्यवसाय बैशाखदेखि नियमित नै हुने देखिन्छ ।
(गौतम सेञ्चुरी कर्मसियल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।)

तपाईको प्रतिक्रिया

RELATED POSTS