काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गरेर अध्यक्ष एवं प्रधानमन्त्रीलाई घुँडा टेकाउने उद्घोष गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त आन्दोलन भ्यागुत्ताको धार्नी सावित हुने संकेत देखिएको छ । फागुन पहिलो साताबाट आँधीबेरी ल्याउने कुराप्रति नेपाली कांग्रेस र समाजवादी पार्टीले आनाकानी गरेपछि यस्तो अवस्था आएको हो ।
एक टेलिभिजन अन्तरवार्ता होस् वा सार्वजनिक कार्यक्रम, सबैतिर प्रचण्डले यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुराकानी भइरहेको बताएका थिए । तर, देउवाले भने यस विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन् । प्रचण्डले राजनीतिक दलहरुको बीचमा मात्र होइन, विभिन्न संघसंस्था र नागरिक समाजसँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रस्ताव अगाडि सारेका छन् । केही दिन अगाडि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘नेपाली कांग्रेस, जनता समाजवादी पार्टी अन्य थुप्रै पार्टीसँग, विभिन्न संघ संस्थासँग र नागरिक आन्दोलनसँग हामी लगातार छलफलमा छौं भनेतापनि नेपाली कांग्रेसको संस्थापन पक्ष अर्थात पार्टी सभापति शेरबहादुर देउवाले संयुक्त आन्दोलन गर्ने विषयमा खासै चासो नदिएपछि प्रचण्ड हिस्स भएका छन् । यही कारण दलहरुका बीचमा यस विषयमा कुनै संयुक्त बैठक समेत आयोजना भएको छैन ।
प्रतिनिधि सभाको विघटनको भोलिपल्ट दलहरुको एउटा संयुक्त बैठक बस्यो जहाँ प्रचण्डले संयुक्त आन्दोलनको प्रस्ताव गरे तर त्यसका लागि कांग्रेस तयार भएन् । यसैबीच कांग्रेसलाई संयुक्त आन्दोलनमा ल्याउनका लागि प्रचण्ड–माधव समूहले कांग्रेस सभापति देउवालाई प्रतिनिधि सभा पुनःस्थापना भएमा प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै प्रचण्डले देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएका थिए । त्यस अगाडि देउवा निवासमा नै पुगेर प्रचण्ड र नेपालले केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । तर देउवाले यस विषयमा केन्द्रीय समितिमा छलफल गराउने आश्वासन दिएर टारेका थिए । त्यसै कारण यस विषयमा खासै छलफल नै भएको छैन ।
त्यसो त यसबाहेक देउवाको व्यक्तिगत अडान र महत्वकांक्षाले पनि काम गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गरिरहे पनि देउवा ठूलो आन्दोलन गरेर अदालतलाई प्रभावित पार्नु हुन्न भन्ने पक्षमा रहेको छनक दिंदै आएको अवस्था छ । त्यतिमात्रै हैन, देउवाको आन्दोलनमार्फत अदालतलाई धेरै दबाव दिने पक्षमा छैनन् । जसका कारण पार्टीभित्र उनको आलोचना पनि भइरहेको छ । साथै पार्टीका नेताहरुले देउवालाई प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा खरो रुपमा प्रस्तुत नभएको आरोप समेत लगाइरहेका छन् । यस्ता आरोपप्रति देउवाले कुनै चासो दिएका छैनन् । र पछिल्लो समय देउवाको भनाईसँग सहमत हुँदै सो पार्टीका नेता गोपालमान श्रेष्ठले पनि ‘अहिले पार्टीले संयुक्त आन्दोलनबारे निर्णय लिइसकेको छैन, भन्दै ‘कम्तिमा सर्वाेच्चको फैसला अगाडि संयुक्त आन्दोलनको सम्भावना नरहेको दावी गरेका छन् । यि र यस्ता घटनाबाट के प्रष्ट भएको छ भने, संयुक्त आन्दोलन हैन, बरु निर्वाचनको तयारीमा लाग्नु नै एकमात्र विकल्प हो भन्ने विषयमा सबैजसो दलहरु समहत देखिएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS