काठमाडौं । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णयसँगै आगामी बैशाख १७ गते निर्वाचन हुने कुरा मन्त्रीपरिषद्ले निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो ।
आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।
यसैबीच निर्वाचन तयारी र आफ्नो पार्टी नेकपा भित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली गत मंगलबार निर्वाचन आयोग गएका थिए । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिकता दावी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका थिएनन् ।
यसैबीच निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । आयोगले आइतबारसम्ममा सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिता तथा दल दर्ताको प्रक्रिया अघि बढाउने तयारी थालेको हो । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद नटुंगिदै आयोगले निर्वाचन तयारी तीव्र पार्नुलाई अर्थपूर्णरुपमा हेर्न थालिएको छ । मंगलबार मात्र पनि निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारी तीव्र पारिएको व्रिफिङ गरेका थिए । बैशाखमै निर्वाचन हुने भएपनि समय पर्याप्त नरहेको विज्ञहरुले बताइरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मितिमा निर्वाचन गर्नका लागि पर्याप्त समय रहेको बताएका छन् । फागुन २१ गते आयोगले अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशत गरिसकेपछि समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीका लागि दलहरुलाई आह्वान गर्नुका साथै मनोनयन दर्ताको प्रक्रिया सुरु हुने आयोगले जानकारी दिएको छ । आयोगले निर्वाचन तयारी तीव्र पार्दा नेकपा प्रचण्ड–माधव समूहलाई चित्त बुझेको छैन । नेकपाको आधिकारिकता टुंगो लगाएर मात्र निर्वाचन सम्भव हुने यो समूहले बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS