काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि फुटको प्रभाव सबै जिल्लामा परेको छ ।
संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन । जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।
प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ । ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।
यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।
पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ । तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।
प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ भने धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ भने अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।
प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS