काठमाडौं । लामो समयपछिको संघर्षबाट नेपाल र नेपाली जनताले स्थिर सरकार पाएका थिए । झण्डै दुईतिहाइको नेपाली जनताको मत पाएर गठन भएको सरकार ३ वर्ष पुग्दा नपुग्दै पार्टीभित्रको आन्तरिक झगडाका कारण पुरा अवधि टिक्न सकेन । त्यसपछि २०७८ वैशाख १७ र १८ गते मध्यावधि निर्वाचनको मितिसमेत घोषणा भएको छ । पार्टीको आन्तरिक विवाद जस्ले गर्दा सरकारले कामै गर्न पाएन, देश दुर्घटनातर्फ अघि बढ्ने संकेत पाएका कारण जनताको नासो जनतालाई सुम्पिएँ भनेर प्र.म. ओलीले दावी गरेका छन् भने प्रधानमन्त्रीलाई संविधानमा नै नभएको अधिकार प्रयोग गरी संसद् विघटन गर्नुलाई असंवैधानिक, अप्रजातान्त्रिक र निरंकुश भएको आरोप दाहाल नेपाल पक्षले लगाएको छ । स्थायी सरकार बनाउन जनताले नेकपालाई दिएको मताधिकार त्यसै खेर गएकोमा नेपाली जनतामा निराशा छाएको छ । साथै पछिल्लो समय नेताहरुको विधि व्यवहारबाट मुकदर्शक भएका छन् । र यदि निर्वाचन भयो भने जनतासमक्ष मत माग्न कसरी जाला भन्ने यक्ष प्रश्न पैदा भएको छ ।
आफ्नै पार्टीभित्रको एउटा पक्ष स्वभावैले निर्वाचनमा जाने भए पनि पार्टी भित्रकै अर्को विरोधी पुष्पकमल दाहाल–नेपाल पक्ष निर्वाचनको विरोधमा उत्रिएका छन् । अन्य दलहरु पनि कोही निर्वाचनमा गएर ताजा जनादेश लिनुपर्छ भन्छन् भने कोही सडक आन्दोलन गरेर सडकबाटै प्रतिनिधिसभा पुनःस्थापना गर्नु पर्दछ भन्दै सडक तताउन उद्दत् भैरहेका छन् । यसैबीच संसद् पुनःस्थापना हुनु पर्दछ भनी सर्वोच्च अदालतमा १२ वटा रिटसमेत परेका छन् र अहिले बल अदालतमा भएको हुँदा सम्मानित अदालतबाट के–कस्तो फैसला हुन्छ त्यो भविष्यले नै निर्धारण गर्ला । तर नेकपाभित्रकै प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा जुलुस लगाउँदै प्रत्येक दिन सडकमा रमिता देखाउन तल्लिन छन् । उता नेपाली कांग्रेस र जनता समाजवादी पार्टी निर्वाचन हुने नै भयो भने निर्वाचनमा जानकालागि तत्पर देखिएको छ । र नै उस्ले आन्दोलन गरेजस्तोमात्रै गरिरहेको छ ।
वास्तवमा भन्ने हो भने नेकपाभित्र यसरी बिग्रह आउनुमा कुनै राजनीति कारण नभई पद, पैसा र परिवारवाद नै हो भन्ने आकलन हुन थालेको छ । ओलीलाई पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चाहिने प्रचण्डलाई पनि प्रधानमन्त्री नै चाहिने । दुवै जनालाई एउटै पद चाहिने भएपछि बिग्रहको शुरुआत भएको कुरामा कुनै शंका छैन । नेकपामा देखिएको यो भाँडभैलो अरु केही नभई व्यक्तिगत स्वार्थ नै हो । ओलीविरुद्ध विभिन्न आरोप लगाई राजनीति दस्ताबेजको रुपमा प्रचण्डले स्थायी समितिमा पेश गरेका थिए भने, सोको प्रत्युत्तरमा ओलीले पनि नमिठोसँग जवाफ दिएका थिए । प्रचण्डले त यतिसम्म गरेकी उक्त दस्तावेजलाई मुलुकभरका कार्यकर्तामा पु¥याउने कामसमेत गरे । यसरी आफ्नै पार्टीभित्रका नेतृत्व वर्गले एक अर्कालाई आ–आफ्ना कमी कमजोरी ओकलेर छताछुल्ल गरेर दुनियाँ हसाउने जुन काम गरे निश्चय नै उनीहरुको सक्कली अनुहार छर्लङ्ग हुन गएको छ ।
अनि अर्को कुरा के पनि हो भने पूर्वएमाले र पूर्व माओवादी केन्द्रबीच नमिलेको कुरा भनेको जनताको बहुदलीय जनवाद र एकाइसौँ शताब्दीको जनताको जनवाद हो । कम्युनिष्ट पार्टी मिल्ने आधार भनेको विचार र सिद्धान्त हो । विचार र सिद्धान्त नमिलेपछि फुट आउनु कुनै नौलो कुरा होइन । शुरुमा माओवादी केन्द्र एमालेमा आउन हतारजस्तो थियो । अहिले स्थापित भइसकेपछि नेता, कार्यकर्ता, भातृ संगठनमा जनताको जनवादलाई टेकेर अघि बढ्नुपर्ने दबाब सिर्जना हुँदै आएको छ । नेकपा अहिले एउटै पार्टी देखिए पनि यिनीहरुको आन्तरिक झगडा भने बढ्दै गएको छ । वैधानिकरुपमा फुटिनसकेको भए पनि सारभूतरुपमा विभाजन भई नै सकेको छ । र दुवै पक्षबाट एक अर्कोलाई गालीगलौज तीव्ररुपमा भई नै रहेकाले अब पुनः पार्टी एक हुनसक्ने सम्भावना देखिँदैन । नेपालको राजनीतिमा प्रचण्ड चतुर खेलाडी हुन् । उनको यही स्वभावलाई ठेगान लगाउन ओलीले असंवैधानिक कदम चाल्न वाध्य भएको कतिपयको अनुमान छ ।
खासमा भन्नुपर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको भएपनि मुलतः पार्टी विभाजन भइसकेको छ । विभाजनको असर गाउँ गाउँसम्म पुगेको छ । कार्यकर्ताहरु कालो झण्डा देखाउन र मुर्दावादको नारा लगाउन मैदानमा उत्रिसकेको अवस्था छ । त्यसैगरी पछिल्लो समय प्रदेश सरकारहरुलाई धमाधम प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्दै सरकार ढाल्नेतिर लागेका छन् । यसको बदलामा ओलीले प्रदेश सरकार विघटन गर्ने समाचार पनि आएको छ । यसरी व्यक्तिगत स्वार्थबाट प्रेरित भएर राष्ट्रलाई अधोगतिमा पु¥याउने अरु कोही नभएर यिनै नेतृत्व देखिएका छन् । यद्यपी यो कार्य दुवै पक्षकालागि घातक छ । यस किसिमको घिनलाग्दो राजनीतिले नेपाललाई कति तल झार्ने हो ? कम्युनिष्ट आन्दोलन कतिवर्ष धकेलिने हो ? यसै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS