सर्लाही । नेकपा फुटको असर विस्तारै मैदानमा देखिन शुरु भएको छ । वहालवाला मन्त्रीलाई विभाजन हुनुअघिका आफ्नै कार्यकर्ताले यस्तो हर्कत गर्न थालेपछि यस्तो अवस्था सिर्जना भएको हो । तीन प्रभावशाली मन्त्रीलाई नेकपाका नेता र कार्यकर्ताले कालो झण्डा देखाउनुले यो कुरा पुष्टि भएको छ । पार्टी कार्यक्रमका लागि तराईका विभिन्न जिल्ला हुँदै सर्लाही पुगेका मन्त्रीलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, श्रम मन्त्री प्रभु साह र महिला बालबालिका तथा समाज कल्याण मन्त्री लिला श्रेष्ठलाई दाहाल–नेपाल समूहका कार्यकर्ताले लालबन्दी नगरपालिकाको नवलपुरमा कालो झण्डा देखाएका हुन् ।
यसैबीच पूर्वमन्त्री एवं नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडी तोडफोड भएको छ । केपी शर्मा ओली समूहको कार्यक्रममा सहभागी हुन पुग्नुभएका नेता थापाको गाडी राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा तथा विद्यार्थीले तोडफोड गरेका हुन् ।
त्यस्तै रौतहटमा सहरी विकासमन्त्री प्रभु साहले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीको नाममा व्यापारी भएको गम्भीर आरोप लगाएका छन् । साथै उनले यही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो मात्र फाइदा हेर्ने स्वार्थी व्यक्ति भएको आरोप पनि लगाएका छन् । रौतहटको क्षेत्र नं. ४ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई चन्द्रनिगाहपुरमा सम्बोधन गर्दै मन्त्री साहले प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको बताएका छन् ।
आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्डको विरोधमा खर्चेका मन्त्री साहले माधव नेपाल हदैसम्मको स्वार्थी र प्रचण्ड माओवादीको नाममा व्यापार गर्ने एक व्यापारी भएको गम्भीर आरोप लगाएका छन् ।
लामो समयदेखि माओवादीमा विना चुनाव अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल, वैद्य, विप्लवसहितका दर्जनौँ सक्कली माओवादीले उनलाई छाडेको र उनी अझै माओवादीको नाममा व्यापार गर्दै आफ्नो परिवार उत्थानमा मात्र लागेको उनले आरोप लगाउँदै प्रचण्डले माओवादीको नाममा सबै सिद्धान्त बेच्दै आएको आरोप लगाउँदै साहले अब आएर उनी सूर्य चिह्नको पछाडि लाग्नुले नै उनी नक्कली कम्युनिस्टको कित्तामा गइसकेको ठहर गर्दै प्रचण्ड आफ्नो जीवनको अन्तिम राजनीतिक रक्षात्मक अवस्थामा आइपुगेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS