काठमाडौं । काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा अत्यधिक वायु प्रदूषण बढेको छ । हरेक जाडो मौसमसँगै यस वर्ष पनि मौसममा आएको बदलावका कारण गत आइतबारदेखि वायु प्रदूषण उच्च भएको हो । पश्चिमी वायुको प्रभावले मौसम सक्रिय भई घाम नलाग्ने, हावा नचल्ने हुँदा प्रदूषण बढ्दै गएको वातावरणविद्हरुले बताएका छन् । वातावरण विभागले विज्ञप्ति नै जारी गर्दै प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा‚ दीर्घरोगीले विशेष ख्याल गर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले औसतमा २ दशमलव ५ पार्टिकुलर म्याटरमा ४० माइक्रोग्राम परमिटर क्युब हुनुपर्ने व्यवस्था छ । तर, उपत्यका र तराई क्षेत्रमा औसतभन्दा तेब्बर वायु प्रदूषण बढेको हो । उपत्यकामा मौसम गुम्सिएर हावा बाहिर जान नपाएपछि वायु प्रदूषण बढेको विभागले बताएको छ । ‘काठमाडौं उपत्यकालाई वरिपरि पहाडले घेरेको छ । हावा नचलेपछि गाडिको धुवाँ, सडकको धुलो उपत्यकाभित्रै गुम्सिएर यतै रुमलिने हुँदा प्रदुषण बढ्नु स्वभाविकै हो ।
त्यस्तै भारतको उत्तरप्रदेश र विहारका उद्योगधन्दा कलकारखानाबाट आएको प्रदूषणले पनि उपत्यकामा असर गर्छ ।’ प्रदूषण बढ्ने समयमा सकेसम्म घर बाहिर ननिस्कन विभागले आग्रह गरेको छ । साथै विभागले घाम लाग्न थालेपछि तातेर प्रदूषणका किटाणु माथि जान थाल्ने र फेरि दिउँसो घाम कम हुन थालेपछि किटाणु तल झर्न थाल्ने भएकाले ‘यस्तो बेला बाहिर निस्कनै पर्ने भए मास्क लगाएर मात्रै निस्कन सल्लाहा दिएको छ । वायु प्रदूषणका बेला सरकार र स्थानीय तहलाई विशेष आग्रह गरी प्रदूषण घटाउने उपायको खोजी भैरहेको विभागले बताएको छ । त्यसो त हरेक वर्षको जाडो मौसममा प्रदूषण दर उच्च हुने गरेपनि गर्मी र वर्षामा कम हुने गरेको छ ।
विभागले राखेको प्रदूषण मापन केन्द्रको रेर्कडमा रत्नपार्क क्षेत्रमा आइतबार ३२४ दशमलव ८३ माइक्रोग्राम परमिटर क्यूब मापदण्ड पुगेको थियो । तर, सोमबारको २४ घण्टाको रेकर्डमा ३१४ दशमलव ८४ माइक्रोग्राम पुगेको हो । भैँसेपाटीमा आइतबार २९१ दशमलव २३ माइक्रोग्राम भएकोमा पछिल्लो २४ घण्टामा २६८ दशमलव २४ माइक्रोग्राम पुगेको छ । भक्तपुरमा आइतबार १७९ दशमलव ६२ माइक्रोग्राम पर मिटर क्यूव भएकोमा पछिल्लो २४ घण्टामा १६७ दशमलव ६२ माइक्रोग्राम पुगेको हो ।
त्यस्तै तराई क्षेत्रमा विराटनगर, सौराहा, नेपालगञ्ज क्षेत्रमा समेत औसतभन्दा धेरै वायु प्रदूषण भएको तथ्याङ्कमा देखिएको छ भने विराटनगरमा आइतबार १७० दशमलव ४८ माइक्रोग्राम भएकोमा पछिल्लो २४ घण्टामा १३३ दशमलव ७८ माइक्रोग्राम पुगेको विभागले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS