काठमाडौं । वैशाख १७ र २७ गतेका लागि तय चुनावको तयारीका लागि निर्वाचन आयोग थप एक पाइला अगाडि बढेको छ ।
सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभा चुनावको घोषणा गरेको छ । चुनावका लागि आवश्यक तयारी तीब्र पारिएको आयोगले जनाएको छ ।
सोही चुनावलाई ध्यान दिँदै अन्तिम मतदाता नामावलीको तयारी प्रक्रिया थालिसकेको आयोगले विज्ञप्ति निकालेर जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रवक्ता राजकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा यही पुस २३ गतेबाट मतदान केन्द्र र मतदान स्थल निर्धारणको काम थालिने उल्लेख छ । त्यसैगरी आयोगबाट मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्यविधि, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत भइसकेको पनि विज्ञप्तिमा लेखिएको छ ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको आयोगले जनाएको छ । सो काममा सहयोग गर्न सबैलाई अपील गदै आयोगले लेखेको छ ( ’समिति मार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकोले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन आयोग हार्दिक अपिल गर्छ ।’ साथै आगामी माघ १७ गतेसम्ममा सबै काम सम्पन्न गर्नेगरी कार्यतालिका स्वीकृत गरिसकेको पनि आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS